विराटनगर ।बेतना सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेर राखेको भाले चित्तल मारिएपछि सबडिभिजन वन कार्यालयले उपभोक्ता समितिमाथि छानबिन गर्ने भएको छ ।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सिमसारमा शनिबार राति चित्तल मारेर लगिएको थियो । घेराबेराभित्र राखिएको भाले चित्तललाई रातको समयमा मारेर लगेको भेटिएको सबडिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दीपेशकुमार मिश्रले बताए ।
पर्यटकहरूलाई आकर्षित गर्नका लागि सिमसार क्षेत्रमा विभिन्न चराचुरुङ्गी तथा बन्यजन्तुहरु पाल्ने गरिएको छ । सिमसार क्षेत्रमा बाँदर, मुसा, चित्तल लगायतका पशुपंक्षी पालिएको छ । राजनीतिक भागबन्डाले लथालिङ्ग भएको बेतना सामुदायिक वनमा पछिल्लो समय भने पशु चौपाया नै हराउन थालेका छन् ।
सामुदायिक वनमा ८ वर्षदेखि साधारणसभासमेत हुन सकेको छैन । बेतना सिमसार पनि सामुदायिक वन अन्तर्गत नै पर्छ । केही महिना अगाडि नयाँ कार्यसमिति चयन गर्नेगरी साधारणसभाको आयोजना गरिएपनि दलहरुबीचको विवादले भाँडिएको थियो ।
सिमसारमा रहेका ६ वटा चित्तलहरूमध्ये एउटा चित्तललाई भने फिल्म शैलीमा मारेर लगिएको देखिएको मिश्रले बताएका छन् । ‘सिसी क्यामरा फुटेजमा रुखबाट हामफालेर समातेको मात्रै देखिन्छ,’ उनले भने ‘३÷४ जनाको समूहले मारेर लगेको हाम्रो अनुसन्धानले देखाएको छ ।’
सिसि क्यामरा फुटेजमा टाउको छोपेको एक जना मात्रै देखिएको वन कार्यालयले जनाएको छ । सिसी क्यामरा फुटेजमा एकैजना व्यक्तिले निकैबेर कुरेर आक्रमण गरेको देखिएको बेतना सामुदायिक बन उपभोक्ता समूहका कोषाध्यक्ष कमल कोइरालाले बताए । भिडियोमा एक जना देखिएपनि समूहले नै मारेर लगेको अनुसन्धानले देखाएको छ ।
एकै पटकमा हिर्काएर कुदाउँदै लगेर मारेको देखिएको छ । वन अधिकृत मिश्रले अर्काे टिम साइडमा लुकेर बसेर लगेको अनुमान गरेको बताए । मासु लगेर आन्द्रा चाहिँ त्यही छाडेको पाइएको छ ।सिमसारमा जनवारको रेखदेख गर्नका लागि दुई जना सुरक्षा गार्डसमेत राखिएको छ । सुरक्षा गार्ड र सिसी क्यामराको निगरानीमा रहेका जनवार हराएको तीन दिन बितिसक्दा पनि कुनै खबर नभएको पाइएको छ । छानबिन गर्ने निकायले सुराकी पठाएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सुरक्षा गार्ड, अन्य कर्मचारी तथा उपभोक्ता समितिमाथि पनि छानबिन गर्ने मिश्रले बताएका छन् । शनिबार बिहान ३ः३० बजे चित्तल हराएको सिसी क्यामरामा देखिएको छ । ढोकाबाटै मान्छे पसाएर चित्तलको चोरी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको वन कार्यालयले जनाएको छ । मारेर लगिएको चित्तल करिब ६० केजीको रहेको जनाइएको छ ।
चोरी भएको बेला सुरक्षा गार्डहरू गस्तीमा गएको समितिले गरेको छानबिनमा बताएका छन् । पर्यटकको रोजाइमा परेकोे सिमसार पछिल्लो समय भने दलीय भागबन्डाका कारण अस्तव्यस्त बन्दै गइरहेको स्थानीयले बताएका छन् । उपभोक्ता समितिमाथि पटक–पटक अनियमिताको आरोप लाग्ने गरेको छ ।

