सहकारीको नाममा ठगी प्रकरण

विराट विशिष्टिकृत सहकारीको करोड रुपैयाँ प्याजसँगै डुब्यो !

बाढीमा ९० हजार किलो प्याज डुबेको झुठो विवरण पेश, बाढी आएको ६७ दिनपछि डुबेको निवेदन प्रहरीद्वारा सदर

विराटनगर । विराटनगरको गुद्री बजारमा रहेको तरकारी बजारलाई स्थान्तरण गर्दै तरकारीको थोक तथा खुद्रा बजार लगाउन मोरङको कटहरीमा अत्याधुनिक संरचनासहितको तरकारी बजार निर्माण भएको थियो । विराटनगर महानगरपालिका र प्रदेश सरकारले तरकारी बजार सञ्चालन गर्न नसकेपछि बजार सञ्चालन गर्न एक बिशिष्टिकृत सहकारी संस्था दर्ता भयो ।

मोरङका सहकारी क्षेत्रमा नाम चलेका व्यक्तिहरुले करोडौं लगानीमा निर्माण भएको तरकारी बजार सञ्चालन गर्ने भन्दै विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संस्था गठन गरेका थिए । हाल राष्ट्रिय सहकारी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका रमेश पोखरेलको पहलमा खुलेको सहकारीका सञ्चालकले तकारी बजार सञ्चालन गर्नु त कता हो कता त्यसको लागि सहकारीहरुबाट संकलन गरेको करिब एक करोड रुपैयाँ नै हिनामिना गरेका छन् ।

अध्यक्ष देबेन्द्र पौडेल र सचिव राकेश दाहाल रहेको सहकारीले ३२ वटा सहकारी संस्थाबाट १ करोड ३ लाख ८४ हजार ८४४ रुपैयाँ संकलन गरेको थियो । सहकारीले तकारी बजार सञ्चालन गर्न नसकेपछि शेयर सदस्य रहेका सहकारी संस्थाहरुले लगानी विर्ता माग्दा ‘बाढीले डुबाएको’ जवाफ पाउने गरेका छन् ।

सहकारी डुब्नु र बाढीले डुब्यो भन्ने जवाफ दिनुको गज्जबको संयोग छ । २०७७ असार ९ गते स्थापना भएको सहकारीले प्रदेशका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको उचित मूल्य दिने र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य राखेको थियो । कटहरीको कृषि तथा थोक बजार बिक्री केन्द्र सञ्चालन गर्ने योजना अनुसार सहकारी अभियान्तासमेत रहेका पोखरेलको अगुवाइमा सहकारी स्थापना हुँदा सुरुवातमै सहकारी नाफामा जाने र लाभांश पाइने भनिएको थियो ।

सहकारीका शेयर सदस्य रहेका धनकुटाका खगेन्द्र सुवेदीका अनुसार सहकारीले तकारी बजार सञ्चालन गर्न सकेन भने अहिले सहकारीको हिसावकिताव पनि सञ्चालकले दिएका छैनन् । लगानी गरेको पैसा फिर्ता माग्दा पनि नपाएको उनको गुनासो छ ।

अर्का शेयर सदस्य बलबहादुर घिमिरेले अब अति भएकोले उजुरी बोकेर बसेको बताएका छन् । पोखरेलको विश्वासमा लगानी गरेकोले उनले जिम्मा लिनुपर्ने उनको भनाइ छ । ‘के के न गर्ने भनेर विभिन्न प्रलोभन दिएर सहकारी खोलियो । अहिले जिम्मेवारहरु सबै पन्छिएका छन्’ उनले भने, ‘ सहकारीको नेता आफैं जिम्मेवारी लिन छोडेर भाग्दै गरेको देखिन्छ । सहकारी डुबाएको जसअपजस रमेश पोखरेलले पनि बोक्नुपर्छ ।’
सहकारीले करिब एक वर्षसम्म भने बजारलाई चलाएको थियो । २०७८ कार्तिक ३ र ४ गतेको बेमौसमी वर्षापछि गोदाममा पानी पसेको र त्यहाँ राखेको प्याज डुबेको सञ्चालक समितिका अध्यक्ष र सचिवले दावी गर्दै आएका छन् । तर, कति प्याज डुब्यो भन्ने कुनै तथ्याङ्क छैन ।

एक्कासी मंसिर १५ गते (४१ दिनपछि) बसेको सञ्चालक समितिको बैठकमा अध्यक्षले ९० हजार किलो प्याज डुबाएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही बैठकले टिकादत्त पन्तको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्माण गर्यो । तर, अध्यक्ष र सचिवले समितिलाई कुनै कागजात दिएनन् । सदस्यहरुले लगातार विशेष साधरणसभा बोलाउन माग गरेपनि उनीहरुले आलटाल गरेको शेयर सदस्य समेत रहेका बल्लभ घिमिरेले बताएका छन् ।

बाढीले डुबाएको भए मुचुल्का वा प्रमाण पेश गर्न सदस्यहरुले अनुरोध गरेका थिए । त्यतिधेरै परिणाममा प्याज खरिद गरेको बिल, भौचर माग भएको थियो । तर, त्यसपछि न सहकारीको बैठक बसेको छ, न साधारणसभा नै भएको छ ।

२०७९ साउन ४ गते सुपरिवेक्षण समितिको बैठकले अध्यक्ष र सचिवलाई ५ दिनको समयभित्र लेखा अभिलेख विवरणसहित स्पष्ट हुन नसकेका व्यहोराहरु दिन चेतावनी दिएको थियो । सोही चेतावनीपछि प्राप्त विवरण हेर्दा सहकारीको ‘प्याज डुबेर’ नभइ अध्यक्ष र सचिवले मनपरी गरेको खुलासा भएको शेयर सदस्य घिमिरे बताउँछन् ।

सुपरीवेक्षण समितिले बाढीबाट ठूलो परिमाणमा प्याज क्षति भएको अध्यक्ष र सचिवको दावी पत्याउने आधार नदेखिएको प्रतिवेदन दिएको छ । ‘भण्डारण गरि राखेको ९० हजार केजी प्याज (करिब ५० लाख रुपैयाँ बराबरको) पुरै क्षति भएको भन्ने व्यहोरा खुलाई सञ्चालक समितिको मिति २०७८ मंसिर १५ गते बसेको बैठकमा अध्यक्ष ज्यूले प्रतिवेदन दिनु भएको पाइयो,’ सुपरीवेक्षण समितिका संयोजक वनले दिएको प्रतिवेदनमा उल्लेख छ, ‘आर्थिक रुपमा ठूलो क्षति हुँदै गरेको अवस्थामा संघका अख्तियारी प्राप्त गरेका जिम्मेवार पदाधिकारीहरुले सञ्चाल सदस्यलगायतका निकायहरुलाई तत्कालै जानकारी नगराउनुले क्षति भएको भनिएको परिमाणमा प्याज भण्डारण गरिएको थियो भन्ने कुरामा सहमत हुन सकिएन ।’

तीन दिन विद्युत आपूर्ति बन्द हुँदाको अवस्थामा भण्डारणमा रहेको सबै प्याज क्षति भएको भन्ने ब्यहोरालाई पनि मान्न नसकिने प्रतिवेदनमा उल्लेख छ । रोचक पक्ष त के छ भने वर्षाका कारण आएको बाढीबाट भएको क्षतिको यकिन गर्न ६७ दिनपछि मात्रै वडा प्रहरी कार्यालयमा सहकारी संघका अध्यक्ष र सचिवले निवेदन दिएका थिए । प्याजको नामो निशाना मेटिइसकेपछि दिएको निवेदनकै आधारमा प्रहरीले पनि हचुवाको भरमा मुचुल्का गरिदिएको पाइएको छ ।

वडा प्रहरी कार्यालयको सर्जमिन मुचुल्का गराउँदा पनि विराटनगरमा उपलब्ध भएका सञ्चालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समिति र सल्लाहाकारलाई जानकारी दिइएन । ‘जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिइ क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराई बाढी आएको दिनबाट ६७ दिन पछि वडा प्रहरी कार्यालयमा निवेदन दिई क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवाको भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ सुपरिवेक्षण समितिले भनेको छ, ‘वास्तविक क्षति भएकै हो भन्ने ब्यहोरा शङ्कास्पद देखिन्छ ।’

सहकारीले यत्रो कारोबार गर्दा पनि सहकारी ऐन र नियमावली, मापदण्ड र प्रचलित लेखा प्रणाली अनुसार अभिलेखीकरण नगरेको पाइएको छ । ९० हजार किलो प्याज पनि हचुवाको भरमा डुबेको मौखिक रुपमा जानकारी गराइएको समितिले जनाएको छ । ‘करिव ९० हजार के.जी. प्याज भण्डारण गरिएको र बाढी आएकै कारणले क्षति भएको भन्ने ब्यहोरालाई लेखा सुपरिवेक्षण समितिले स्वीकार गर्न सकिने अवस्था देखिएन,’ समितिले भनेको छ ।

सहकारीले बाढीले त्यति ठूलोमात्रामा क्षति गर्दा पनि संचालक समितिको बैठक नबोलाएको, विशेष सधारणसभा नगरेको तथा बजारमा रहेको असुल गर्नुपर्ने उधारो रकमसमेत नउठाएकोले सहकारी संस्थाहरुले गरेको लगानी जोखिममा परेको छ । सहकारीका अध्यक्ष पौडेलले सञ्चालक समितिको निर्णयबिना नै ४ लाख रुपैयाँ लगेको, सहकारी संघ र को–मार्टको बीचमा भएको भाडा सम्झौता अनुसार भाडा उठाउनुको साटो हचुवाको भरमा उल्दै ५ लाख ६८ हजार रुपैयाँ दिएको, बजारबाट उठाउन बाँकी भनेर हचुवाको भरमा ३८ लाख ८५ हजार रुपैयाँ देखाएको सुपरीवेक्षण समितिले जनाएको छ ।

संघका जिम्मेवार पदाधिकारीले हदैसम्मको गैरजिम्मेवार कार्य गरि लापरवाही गरेको सुरपरीवेक्षण समितिले ठहर गरेको छ । अध्यक्ष र सचिवले अख्तियार दुरुपयोग गरि रकम अपचन गरेको लेखा सुपरिवेक्षण समितिको निश्कर्ष छ । १ करोड २३ लाख ७५ हजार रुपैयाँ शेयरपूँजीमध्ये सहकारीको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँ मात्रै रहेको छ ।

सहकारीको कार्यालय, सहकारीका सम्पत्ती तथा हिसाव किताब विवरणहरु अन्यौलपूर्ण अवस्थामा रहेको घिमिरे बताउँछन् । सहकारीको संघको सञ्चालक समितिको बैठकले अध्यक्ष देवेन्द्र्र पौडेल, उपाध्यक्ष खोमप्रसाद बगाले र सचिव राकेश दाहाललाई नै खरिद तथा भण्डारण गर्ने र बिक्री वितरण गर्ने अधिकार दिएको थियो । सहकारीको व्यवस्थापकको रुपमा गणेश ढकाल नियुक्त भएका थिए ।

सहकारी संघका सचिव दाहालले छिट्टै साधरणसभा बोलाएर नयाँ ढंगले सहकारी अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । अध्यक्ष पौडेलको भने पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आएनन् ।

मङ्गलबार, १५ फागुन, २०८०, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर