लोड हुँदैछ...

मेनु

सादा पोशाकका प्रहरीले बद्नामी भयो, अब राख्दिन : एसपी कार्की

सादा पोशाकका प्रहरीले बद्नामी भयो, अब राख्दिन : एसपी कार्की

विराटनगर । मोरङको प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीहरूसँगको परिचायत्मक कार्यक्रममा उनले तत्काललाई सादा पोशााकका प्रहरी नराख्ने बताएका हुन् ।

सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको ५ जना सादा पोशाकका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी रहेको स्थानमा पठाइएको छ ।

फागुन ७ गते मोरङ प्रहरी प्रमुख भएर आएका कार्कीले कार्यभार सम्हालेलगत्तै एसपी पोेखरेलले राखेका सादा पोशाकका वरिष्ठ नायव निरीक्षक राजेन्द्र कटुवाल, सहायक प्रहरी हवल्दार सुदर्शन कालाखेती, प्रहरी जवानहरु चुडामणी सुयल, अमृत श्रेष्ठ र काचुम भोटेको काज फिर्ता पठाएका छन् ।

उनीहरू काजमा मोरङमा बसेका थिए । सादा पोशाकमा खटिएका प्रहरीलाई फिर्ता बोलाएर दरबन्दी भएको ठाउँमा एसपी कार्कीले पठाएका छन् । वरिष्ठ नायव निरीक्षक कटुवालको उच्च अदालत विराटनगरमा, सहायक प्रहरी हवल्दार कालाखेतीको जिल्ला प्रहरी कार्यालय खोटाङमा, प्रहरी जवानहरु अमृतको तेह्रथुममा, भोटेको ओखलढुङ्गा जिल्ला प्रहरी कार्यालयमा फिर्ता भएको हो ।

प्रहरीहरुले मंगलबार रमना बुझेर दरबन्दी भएको ठाउँमा खटिएका छन् । यसअघि सादा पोशाकमा रहेका प्रहरी सहायक हवल्दार गणेश श्रेष्ठ प्रहरी चौकी बखरीमा छन् ।

एसपी कार्कीले तत्काल सादा पोशकको प्रहरी नराख्ने प्रतिवद्धता जनाएपनि आवश्यकता परेको खण्डमा परिचालन भने हुने उल्लेख गरेका छन् । ‘कुनै घटना घट्यो भने त्यसको अनुसन्धान र अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न त्यसैबेला तत्काल प्रहरी परिचालन हुनेछ,’ उनले भने, ‘त्यसबाहेक असुली धन्दामा सादा पोशाकका प्रहरी राखेर संगठन बदनाम गराउने पक्षमा म छैन ।’

एसपी कार्कीले चाँडै कार्ययोजना बनाएर शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने बताए । ‘चाँडै कार्ययोजना तयार हुनेछ । त्यसपछि योजना अनुसार काम हुनेछन् । लागूऔषध नियन्त्रण, चोरी, तस्करी, अवैध भन्सार छली रोक्न लागिपर्नेछु,’ उनले भने, ‘त्यसमा सबैको साथ सहयोगको खाँचो रहेको छ ।’

आफू मोरङ आएलगत्तै एक हप्तामा २ लाख रुपैयाँभन्दा बढीको भन्सार छलेको सामान बरामद गरेको एसपी कार्कीले दावी गरेका छन् । जिल्ला प्रहरी र मातहतको इलाकाबाट सेवाग्राहीलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाएर लैजाने उनले बताए । ‘सेवाग्राहीको रेस्पोन्स चाँडोभन्दा चाडो गर्नेछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।