विराटनगर । सरकारले आजदेखिदादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरू गर्दैछ । देशका ७५ वटा जिल्लामा खोप अभियान शुरू गर्ने भएको हो । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेको थियो । अभियान आउँदो चैत ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मोरङमा करिब ३ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । यही फागुन १३ गतेदेखि सुरु हुने खोप अभियान अन्तर्गत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय मोरङले अभियान अन्तर्गत २ लाख ८१ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ । १५ दिने खोप अभियानमा मोरङका १७ वटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा। सुरेश मेहताले जानकारी दिए । दादुरा–रुबेलाको खोप अभियानमा १ हजार ५०० बढी खोप केन्द्रबाट बालबालिकाहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउनेछन् ।
खोप कार्यक्रम अन्तर्गत दादुरा–रुबेला बाहेक नियमित खोप नलगाएका बालबालिका पनि पहिचान गरेर खोप दिने तयारी रहेको छ । जस अन्तर्गत डिपीटी, पिसीभी र आईपिभी खोप लगाउने सरकारी योजना छ ।