विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको जम्बो टोली बुधबारदेखि हात्ती प्रभावित क्षेत्रको पदयात्रामा निस्किएको छ । झापाको मेचीनगरबाट सुरु भएको पदयात्राले २४३ किलोमिटरको दुरी ७ दिनमा पार गरेर उदयपुरमा समापन हुनेछ ।
हात्तीबाट पीडित बनेका जनताको अवस्था बुझ्ने तथा हात्ती–मानवबीचको द्वन्द्व अन्त्य उपायबारे यात्रामा अध्ययन हुने मुख्यमन्त्री कार्कीले बताएका छन् । मेचीनगर १ प्रसाद गौंडाबाट सुरु भएको पदयात्रा फागुन १५ गते उदयपुरको कटारीस्थित बेलसोत बजारमा पुगेर समापन हुनेछ ।
मुख्यमन्त्री कार्कीले बजेटमा समावेश गरेको कार्यक्रम पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत कार्यान्वयन गरेका हुन् । पदयात्रामा मुख्यमन्त्री कार्कीसहित पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री गणेश उप्रेतीसहित मन्त्रालयका कर्मचारी, विज्ञ र जनप्रतिनिधिसहित ८० जना सहभागी रहेको बताइएको छ ।
पदयात्राका क्रममा मुख्यमन्त्री कार्कीले झापा, मोरङ, सुनसरी र उदयपुरका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्ने तय भएको छ । तथ्याङ्क अनुसार सो क्षेत्रमा २०६७ यता हात्तीसँगको द्वन्द्वमा परी ६५ जना मानिस र २१ वटा हात्तीको मृत्यु भइसकेको छ ।
सरकारले पदयात्राकै लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि हात्ती प्रभावित क्षेत्रमा पदयात्रा–२०८०’ भन्ने नाराका साथ सुरु भएको पदयात्रासँगै सरकारले हात्ती करिडोर क्षेत्र स्थापना गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्षको बजेटमा जंगली हात्ती प्रभावित क्षेत्रमा हात्तीहरुको कोरिडोर म्यापिङ तथा कोरिडोर व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययनको नाममा ५० लाख र जंगली हात्तीहरुको रेफ्युजी निर्माण (मास्टरप्लान कार्यान्वयन)को लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मुख्यमन्त्री कार्की पदयात्राले जंगल, जनता, जनप्रतिनिधि र जनावरबीचको सम्बन्ध स्थापित गर्ने दाबी गर्छन् । ‘जनताको बाँच्ने अधिकारलाई सुरक्षित गर्ने, जनताको जिविकोपार्जनमा पनि सुरक्षित गर्ने । सँगै जंगली जनावरको अधिकारलाई पनि सरकारले संरक्षण गर्ने यसको मुख्य उद्देश्य हो,’ उनले भने, ‘पदयात्राका क्रममा आएका सुझावलाई संकलन गर्दै आगामी बजेटमा सम्बोधन गर्छौं ।’
जंगलको छेउका मानिसको दर्द बुझ्न पैदलयात्रा गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् । घरआँगनमै प्रदेश सरकार आयो भन्ने आभाष दिन पनि सफल भएको उनको दावी छ ।
मुख्यमन्त्री कार्की र उनको सचिवालयले व्यापक प्रचारप्रसार गरेको कार्यक्रमबारे प्रभावित क्षेत्रका पीडितहरुले भने खासै औचित्य नभएको प्रतिक्रिया दिएका छन् । हात्तीको ज्यादती खेप्दै आएका उनीहरुलाई हात्तीमैत्री जंगल र हात्ती देखाएर पर्यटन प्रबद्र्धन गर्ने मुख्यमन्त्रीको योजना नै हावादारी लागेको छ ।
हात्ती प्रभावित क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद गोपाल तामाङ पनि क्षणिक लोकप्रियता र जनताको अगाडि गफ गर्नबाहेक यात्राबाट केहि उपलब्धि नहुने बताउँछन् । ‘हात्ती प्रभावित क्षेत्रका बासिन्दाहरु हात्तीमैत्री हैन, हात्तीलाई नियन्त्रण गर्नुपर्छ भन्ने भावना राख्छन्’ उनले भने, ‘हात्तीलाई संरक्षण गर्ने, हात्ती करिडोर बनाउने, पर्यटन विकास गर्ने र आम्दानी गर्ने विषय छरिएको बस्ती र जंगलमा असंभव छ ।’
सांसद तामाङले सम्भाव्यता अध्ययन भनेर ५० लाख छुट्याएको भन्दै त्यसबाट खासै उपलब्धी हुने आफूले र हात्ती पीडितहरुले नदेखेको बताएका छन् । ‘हात्तीले मान्छे मारिरहेको छ, जनताको धनमालको क्षति गरेको छ । तर, सरकारले क्षतिपूर्ति दिन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘यो अवस्थामा के को हात्ती करिडोर, हात्तीमैत्री भनेर मात्र हुन्छ ?’क्षणिक लोकप्रियताको लागि बोलेर मात्रै नहुने भन्दै तामाङले प्रभावित क्षेत्रका बासिन्दाको घरजग्गा सार्ने हावादारी गफ कार्यान्वयन हुन संभव नभएको बताए ।
त्यो काम प्रदेश सरकारले गर्न सक्छ ? हात्तीको करिडोर बनाउन त उसलाई निस्फिक्री हिँड्न सक्ने ठाउँ बनाउन सक्छौं ?’ उनले भने, ‘गफ र काम भन्ने कुरा फरक छ नि ।’
पदयात्रामा मुख्यमन्त्रीसँगै रहेका हात्तीविज्ञ नरेन्द्रबाबु प्रधान भने सरकारले हात्तीपीडितको समस्या सुन्नु नै ठूलो कुरा भएको बताउँछन् । ‘सरकारले हेरेन भन्ने गुनासो छ । त्यो गुनासो सम्बोधन गर्नका लागि सरकार आफैं गाउँगाउँमा आउनु सकारात्मक हो’ उनले भने, ‘हात्तीसँग सहअस्तित्वमा बाँच्नुपर्छ भन्ने किसिमको चेतना र त्यसरी बाँच्नको लागि सरकारले के गर्न सक्छ भन्ने कुरा नीति, रणनीति तयार पार्न पदयात्राले सजिलो हुन्छ ।’
पदयात्रापछि पनि नीतिगत ढंगले यसको समाधानमा सरकारले चासो नदिने हो भने चै त्यो दुःखद हुने उनले बताए । ‘जनताले आगामी दिनमा अरु योजना बनाए पनि पत्याउँदैनन् । यो यात्रामै सीमित हुनुहुँदैन,’ उनले भने, ‘यसले नीतिगत तहबाटै समाधान ल्याउनु पर्छ ।’
जिवविज्ञ रामचन्द्र अधिकारी पनि समस्या बुझ्न सरकार हिंड्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘समस्या बुझ्न हिँडेको, समाधान खोज्न हिँडेको हो भने ठिकै हो’ उनले भने, ‘तर, पैदल हिँडेर मात्र समस्या समाधान हुँदैन । हात्तीलाई नियन्त्रण गर्ने र करिडोर बनाउने हो भने भारतसँगको समन्वयमा गर्नुपर्छ ।’
करिडोर बनाउने कुरा एउटा प्रदेश वा एउटा देशले मात्रै गरेर संभव नहुने अधिकारीको धारणा छ ।