विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुटमिल्समा मंगलबार राति भएको आगलागीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको सो उद्योगमा भएको आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।
उद्योगमा आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको प्रहरीको अनुमान छ । घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।
बन्द अवस्थाको जुटमिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले जनाएको छ ।
नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा मिलका दुई वटा पुराना मेसिनमा पनि क्षति पुगेको छ ।
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ
पछिल्लो समय सरकारले बन्द रहेका उद्योग सुरु गर्न चासो देखाएपछि भारतीय व्यापारिक घराना बिड्ला समूहले मिलको वस्तुस्थिति अवलोकन गरेको थियो । लगत्तै मिलमा भएको आगलागी शंकास्पद रहेको स्थानीयले बताएका छन् ।

