विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले सौन्दर्यकर्मीहरुको लागि लिएको लेबल २ को प्रयोगात्मक परीक्षा विवादमा परेको छ ।
विराटनगरमा फागुन ३ गतेदेखि सुरु भएको प्रयोगात्मक परीक्षा निस्पक्ष हुन नसकेको आरोप लागाउँदै राष्ट्रिय सौन्दयकर्मी युनियन विराटनगरले पुनः परीक्षाको माग गरेको हो ।
सौन्दर्यकर्मीहरुको लागि विराटनगर ११ प्राइम इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रत्येक दिन १० जनाले दैनिक ८ घण्टासम्म प्रयोगात्मक परीक्षा दिने गरेका छन् । पहिलो दिन १० जनाको सिट रहेकोमा ३ जना मात्र परीक्षार्थी सहभागी भए । दोस्रो दिन प्रयोगत्मक परीक्षामा ८ जना सामेल भएकोमा केही लाई छुट्टै गोप्य कोठामा राखेर परीक्षामा उत्तीर्ण गराएको सौन्दर्यकर्मी यूनियन विराटनगर अध्यक्ष भली सुब्बाले बताइन् ।
‘प्रयोगत्मक परीक्षा परीक्षार्थीहरूलाई एकै ठाउँमा राखेर लिनुपर्नेमा फागुन ४ गतेको परीक्षामा परीक्षार्थीहरूबीच विभेद गरियो’ उनले भनिन्, ‘प्राइम इन्स्टिच्युटमा भएको परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको आरोप छ ।’ परीक्षामा परीक्षार्थीहरुलाई मूल्याङ्कनकर्ताहरुले प्रयोगात्मक परीक्षा दिने क्रममा क्रस प्रश्न सोधेर अत्याउने गरेको उनको गुनासो छ ।
‘भाइबा’ (मौखिक प्रश्न) को क्रममा तपाईं फेल हुनुभयो, अर्को पटक परीक्षामा आउनु भन्दै परीक्षार्थीहरुलाई हतोत्साहित गर्दै मानसिक तनाव दिएको परीक्षार्थीहरुको गुनासो रहेको छ । निश्पक्ष रुपमा परीक्षा गराउन नसक्ने मूल्याङ्कनकर्ताहरू माथि छानबिन गरिनुपर्ने उनको भाग छ ।
मर्यादित र व्यवस्थित रुपमा परीक्षा हुने ठाउँमा परीक्षा केन्द्र तोकेर पुनः परीक्षाका लागि माग युनियनले गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको दबाबमा ५ जनालाई चलखेल गरेर पास गराउन दबाब दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको सुब्बाले दावी गरिन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश सचिव कला डाँगीले परीक्षा नै नदिएका ब्यक्तिलाई पास गर्नुपर्छ भनेर दबाब दिएको पाइएको बताएकी छन् । दोस्रो तहको परीक्षामा सहभागी भएपछि उनीहरू उत्तीर्ण भएको अवस्थामा प्रशिक्षकको रूपमा उनीहरूको दर्जा हुनेछ । सिटीभिटीले लिने लेबल २ को परीक्षामा लेभल १ उत्तीर्ण गरेको र ब्यूटिसियनको क्षेत्रमा तीन वर्ष अनुभव भएकोले सहभागी हुन पाउँछन् । ८ घण्टाको परीक्षामा १० वटा प्राक्टिकल गरेर मौखिकमा सोधिएको प्रश्न मिलाए उत्तीर्ण हुने प्राबधान छन् । प्रयोगात्मक परीक्षामा ६५ जना सौन्दर्यकर्मीहरुले फर्म भरेका छन् ।
परीक्षा गराउन आएका सिटिइभिटिका मूल्यांकनकर्ता सुमिना श्रेष्ठले सिटिइभिटीको सिस्टमलाई फलो गरेर प्रयोगात्मक परीक्षा लिएको बताएकी छन् । ‘दोस्रो दिनको परीक्षामा आएका ५ जना परीक्षार्थीहरूले यसअघि नै प्राक्टिकल पास गरेको पाइएकोले उनीहरुले परीक्षा नदिकन गएका हुन्’ उनले भनिन् ।
प्राइम इन्स्टिच्युटमा सञ्चालक नन्दु खवासले सिटिभिटीबाट आएकाहरुले परीक्षा लिने र हामीले व्यवस्थापन गर्ने जिम्मवारी मात्र भएको बताए । ‘हामीले उत्तीर्ण गराउने होइन् । जिम्मेवार व्यक्तिले नबुझेर लगाएको आरोप मात्र हो, यो,’ उनले भने ।

