विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतको ४६ वटा कार्यालयहरु मध्ये आधाभन्दा बढी स्वास्थ्य कार्यालयहरु निमित्तको भरमा चलिरहेको पाइएको छ । दरबन्दी अनुसारको पदपूर्ति गर्न प्रदेश सरकार उदासीन हुँदा स्वास्थ्यजस्तो संवेदनशील कार्यालयहरु निमित्तको भरमा संचालन गर्र्नुपर्ने बाध्यता भएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तरगत ९४७ जनाको दरबन्दी छ । तीमध्ये ४८६ जनाको पद रिक्त रहेको छ । ४६१ जनाको पदपूर्ति भएको स्वास्थ्य मन्त्रालयको अभिलेखमा देखिन्छ । ११ तहको दरबन्दी १३ जना भएपनि दुई जनाको मात्र पदपूर्ति भएको छ । ११ औं तहको ११ जनाको दरबन्दी रिक्त छ । ११ औं तहका कार्यालय स्वास्थ्य मन्त्रालय मातहतको आधा दर्जन छन् । दुई वटा कार्यालयबाहेक स्वास्थ्य तालिम केन्द्र, प्रदेश निर्देशानलय धनकुटा, मेची अस्पताल निमित्तको भरमा चलेका छन् । स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक रोहितकुमार पाण्डे छन् । स्वास्थ्य निर्देशानलयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेत छन् । उनीहरु १०औं तहका कर्मचारी हुन् । ११ औं तहको कर्मचारी पदपूर्ति हुन नसक्दा उनीहरुले वर्षौदेखि निमित्त भएर काम गर्दै आएका छन् । मेची अस्पतालमा ११ तहमा चार जनाको दरबन्दी भएपनि अहिलेसम्म एक जनाको पनि पदपूर्ति हुन सकेको छैन । कोशी प्रदेशमा सरकार माहतको सबैभन्दा ठूलो सरकारी हस्पिटल मेची प्रादेशिक अस्पताल हो । ठूलो अस्पतालमा जनशक्तिको अभावकै कारण गुणस्तरीय सेवा पाउनबाट पूर्वका हजारौं सर्वसाधारण बञ्चित छन् ।
२०० शय्याको मेची अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा अन्य कर्मचारीको व्यवस्थापन प्रदेश सरकारले गर्न नसक्दा हजारांै नागरिकले प्रत्यक्ष मार खप्नु परेको छ । उक्त अस्पतालमा मुटुरोगी, मिर्गौलारोगी तथा मानसिक रोगीहरूको उपचार सम्भव छैन । दरबन्दी भएपनि चिकित्सकको व्यवस्थापन हुन नसकेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबावु खड्काले बताए । ‘भौतिक संरचनासहित जनशक्ति भएनन् भने गुणस्तरीय सेवा कहाँ दिन सकिन्छ र । तर, प्रदेश सरकारले जनशक्ति व्यवस्थापनका लागि चासो देखाएको छ । सायद केही समयमा व्यवस्थापन होला ।’
अन्य विशेषज्ञ सेवाहरूका लागिपनि छात्रवृत्तिमा आउने चिकित्सकलाई करार नियुक्त गरेर अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था रहेको मेसु खड्काले बताए । विशेषज्ञ चिकित्सहरूको अभाव एकातिर छ भने अर्कोतिर स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता कर्मचारी नपाएर मेची अस्पतालले हैरानी खेपिरहेको छ । मेडिकल सुपरिन्टेन्डेन्ट डा. खड्काका अनुसार प्रदेश सरकारलाई बारम्बार जनशक्ति अभावको विषय उठाइएको छ ।
‘प्रदेशभरि नै कति जनशक्ति अभाव छ भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ । छिट्टै व्यवस्थापन होला भनेर आशा गरेका छौँ,’ उनले भने । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औसत ८०० जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।
त्यसैगरी स्वास्थ्य मन्त्रालय मातहतका ९ र १० तहको दरबन्दी ७६ जनाको रहेको छ । ९ र १० औं तहमा विशेषज्ञ चिकित्सक पर्दछन् । अहिले १४ जना रहेका छन् । अझै ६२ जना रिक्त रहेको छ । पदपूर्ति भएका पनि संघ अन्र्तगतका रहेका छन् । ८ औं तहको ५८ जनाको दरबन्दीमा ४१ जना कार्यरत रहेका छन् । ८ औं तहमा अझै १७ जना पदपूर्ति हुन बाँकी छ ।
प्रदेशको पहाडी ८ वटा जिल्ला अस्पतालहरुमा ९ र १० औं कार्यालय प्रमुखको दरबन्दी हो । तर सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ र ओखलढुमा ८ औं तहको मेडिकल अफिसरले निमित्त भएर चलाइरहेको छन् । प्रदेशको १४ वटा अस्पतालहरु, १४ वटा स्वास्थ्य कार्यालयहरु, १४ वटा आयुर्वेद औषधालय÷स्वास्थ्य केन्द्रमध्ये पनि अधिकाश स्वास्थ्य कार्यालयहरु निमित्तको भरमा चलेका छन् ।
जनशक्ति अभावले दोहोरो जिम्मेवारी
स्वास्थ्य मन्त्रालय मातहतको कार्यालयमा दरबन्दी अनुसारको पदपूर्ति हुन नसकेपछि १०औं तहका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले डा. सुरेश मेहता र सागर भट्टराईलाई दोहोरो जिम्मेवारी दिएको हो । मेहता स्वास्थ्य कार्यालय मोरङका प्रमुख हुन् भने भट्टराई स्वास्थ्य कार्यालय सुनसरीको प्रमुख हुन् । उनीहरुलाई मन्त्रालयले थप जिम्मेवारी दिएको छ । मेहतालाई मन्त्रालयको नीति, योजना तथा जनस्वास्थ्य महाशाखा हेर्ने जिम्मेवारी दिएको छ भने भट्टराईलाई अस्पताल विकास तथा चिकित्सा सेवा माहाशाखा हेर्ने जिम्मेवारी दिएको छ । केही समय अगाडि अस्पताल विकासको जिम्मेवारी डा. मेहतालाई दिएको थियो । दुई हप्ता अगाडि उनीहरुको जिम्मेवारी मन्त्रालयले हेरफेर गरिदिएको हो ।
स्वास्थ्य निर्देशानलय धनकुटका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले दरबन्दी अनुसार जनशक्ति नहँुदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘निर्देशानलयमो ३२ जनाको दरबन्दी हो तर अहिले १६ जना कर्मचारी रहेका छन् । अझै १६ जना पदपूर्ति हुन बाँकी छ ।’ लोकसेवा नखुल्दा पनि कर्मचारी पदपूर्तिमा समस्या भएको उनले बताए । ‘काशी बाहेकको ६ प्रदेशमा लोकसेवा आयोगले धमाधम पदपूर्ति गर्दै आएको छ । यहाँ अहिलेसम्म हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले पनि स्वास्थ्य कार्यालयहरुमा सेवा प्रभावमा समस्या भएको हो ।’