विराटनगर ।विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो ।
‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्र्तगत नर्मल प्रसुति भएर जन्मिएको आमा र बच्चा दुबैको निःशुल्क उपचार हुनेछ । शल्यक्रिया गरेर छोरा जन्मिएमा आमाको उपचार खर्च लाग्नेछ भने शल्यक्रिया भएर छोरी जन्मिएको खण्डमा आमाको उपचार खर्च नलाग्ने हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानले बताए ।
विराटनगरमा रहेको ५० शय्याको हस्पिटलमा १५ शय्याको गाइनो वार्ड रहेको छ । अस्पतालमा ८ शय्याको एनआइसियू रहेको बताइएको छ । ‘आमा र छोरी बचाउ’ कार्यक्रमको लागि प्रसुति गराउन दक्ष जनशक्ति रहेको अस्पतालले जनाएको छ । प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.कविता यादवको नेतृत्वको टिम अस्पतालमा छ ।
अस्पतालले ‘आमा र छोरी बचाउ’ कार्यक्रमबाट छोरी पाउने आमालाई १ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि दिने भएको छ । हस्पिटलले सहुलियमा उपचार गर्ने पनि घोषणा गरेको छ । एक हजार रुपैयाँको सुविधा कार्ड बनाए एक वर्षसम्म अस्पतालको ओपीडी निःशुल्क, अन्य परीक्षणमा २५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिने अध्यक्ष रहमानले बताए ।
आर्थिक रुपमा विपन्न, दलित तथा असायहरुलाई साधारण बेडमा ५० प्रतिशत र शल्यक्रिया तथा अन्य परीक्षणमा २५ प्रतिशत छुट दिने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेमनारयण मेहताले बताए ।