मुटुरोग अस्पतालका लागि विशेषज्ञ चिकित्सकद्वारा अनुगमन

विराटनगर । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाले विराटनगरको संक्रामक रोग तथा सघन उपचार केन्द्रको अनुगमन गरेका छन् । केन्द्रलाई कोशी प्रदेश सरकारले मुटुरोग अस्पताल बनाउने योजना अगाडि सारेको छ । शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने सरकारको योजना अनुसार वरिष्ट मुटुरोग विषेशज्ञ डा. कोइरालाको टोलीले सो स्थानको अवलोकन गरेको हो । टोलीमा न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा.लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा.अनिलबिक्रम कार्की, मेडिकल काउन्सिलका सह–कोषाध्यक्ष डा. बिक्रान्त ढकाललगायतका सहभागी थिए ,

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्की, डा. कोइराला लगायतका डाक्टर तथा स्वास्थ्य मन्त्रालयका कर्मचारीले अस्पतालको अनुगमन गरेका थिए । कोभिडको समयमा स्थापना भएको कोशी कोभिड—१९ उपचार केन्द्रलाई अघिल्लो सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाएको थियो ।

अस्पतालमा अहिले सरुवा रोगको उपचार हुने गरेको छ । अहिले ओपिडी १०० जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । ३ मेडिकल अधिकृतसहित ३६ जना जनशक्ति उक्त केन्द्रमा रहेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । केन्द्रमा रहेका ९६ बेडमध्ये २० वटा आइसियु रहेका छन् भने ३५ वटा भेन्टिलेटर रहेको छ ।

संक्रामक रोग तथा सघन उपचार केन्द्रको अनुगमन गर्दै डाक्टर कोइरालाले अस्पतालमा भएका उपकरण जनशक्तिहरूका बारेमा बुझेर मात्रै थप भन्न सकिने बताए । ‘पहिले संरचनागत अवस्था, उपकरण तथा जनशक्तिको बारेमा जानकारी लिन्छु’ उनले भने, ‘त्यसपछि मुटुरोग उपचार केन्द्रको संभावना र त्यसको लागि गर्नुपर्ने कामबारे यकिन हुनेछ ।’

विज्ञ चिकित्सकको टोलीले कुन मोडेलमा, कसरी, कति क्षमतामा र के के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्न सकिन्छ भन्नेबारे अध्ययन थालेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । अस्पतालको भवन, उपकरण, जनशक्ति, ऐन, नियम, निर्देशिकालगायतको बारेमा अध्ययन सुरु गरेको डा.कोइरालाले बताए ।

बिहिबार, ०५ पुष, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर