विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले भौतिक संरचना निर्माण पुरा नभएको विराटनगरको एउटा अस्पताललाई एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको पाइएको छ ।
विराटनगरस्थित गोल्डेन हस्पिटलले भौतिक संरचना निर्माण नगरी एक वर्ष अगाडि सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति पाएको हो । कोशी प्रदेशका तत्कालिन स्वास्थ्यमन्त्री जयराम यादवको मन्त्रीस्तरको निर्णयबाट गोल्डेनलाई यस्तो अनुमति दिइएको हो ।
विराटनगरको हस्पिटल चोकमा भाडाको घरमा अहिले गोल्डेन हस्पिटल ५० शय्यामा सञ्चालनमा थियो । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७०, जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार सय शय्याको अस्पताल सञ्चालन गर्न आफ्नै भवन हुनुपर्छ । तर, मन्त्रालयले आफ्नै भवन नबनाई १०० शय्या सञ्चालनको अनुमति दिएपछि गोल्डेनले गैरकानुनी रुपमा भाडाकै घरबाट अस्पताल सञ्चालन गरिररहेको छ ।
गोल्डेनले विराटनगर ११ मा नयाँ भवन निर्माण गरेर अस्पताल विस्तार गर्ने योजना बनाएकोमा सो भवन अझै बनिसकेको छैन । एक वर्ष अगाडि नै सय शय्याको अस्पताल सञ्चालनको अनुमति पाएको गोल्डेनको भवन निर्माणको काम अझै पुरा भएको छैन ।अस्पताल स्तरोन्नतीको लागि स्वास्थ्य मन्त्रालयमा २०७७ चैत २८ गते गोल्डेनले निवेदन दिएको थियो । उसले १० महिनाभित्रमा आफ्नै भवनमा अस्पताल लैजाने प्रतिवद्धता २०७९ कात्तिकमा मन्त्रालयमा बझुाएपछि तत्कालिन स्वास्थ्यमन्त्री यादवले ३० कात्तिकमा मन्त्रीस्तरको निर्णयबाट सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिएका थिए ।
मन्त्रीको निर्णयपछि स्वास्थ्य मन्त्रालयले २ मंसिर २०७९ मा गोल्डेनलाई सय शय्यामा स्तरोन्नती गरी सञ्चालन गर्न अनुमति दिएको पाइएको छ । अनुमति पाएपछि गोल्डेनले पुरानो भाडाको हस्पिटलबाटै सय शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालका सञ्चालक सनातन मण्डलले अस्पताल नयाँ भवनमा सरिसकेको दावी गरेपनि अस्पताल पुरानै संरचनामा छ । मापदण्ड पुरा नभएको भाडाको भवनबाट गोल्डेन अस्पताल सञ्चालनमा छ ।
गोल्डेनलाई मापदण्ड पुरा नगरी अस्पताल स्तरोन्नतीको अनुमित दिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको पाइएको छ । अख्तियारले नयाँ भवन निर्माण पुरा नभइ सय शय्याको अस्पताल सञ्चालनको अनुमति मन्त्रालयले दिएको विषयमा उजुरी परेपछि अनुसन्धान सुरू गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले जानकारी दिए । ‘गोल्डेन हस्पिटललाई स्वास्थ्य मन्त्रालयले स्तरोन्नती गरि एक सय शय्याको अस्पताल सञ्चालनको लागि अनुमति दिएको विषयमा अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘अनुसन्धानको क्रममा रहेकोले धेरै बोल्न मिल्दैन । अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
अख्यितारले अनुसन्धान सुरु गरेपछि कोशी प्रदेश सरकारले पनि त्यसबारे छानविन थालेको छ । गैरकानुनी रुपमा अस्पताल सञ्चालनको अनुमति दिएको विषयमा छानविन गर्न प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिब गणेश नायकको नेतृत्वमा तीन सदस्य समिति बनाएको छ ।
समिति गठन भएपछि छानविनको काम भइरहेको संयोजक नायकले जानकारी दिए । उनले छानविन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउन बाँकी रहेको बताएका छन् । गोल्डेनको स्तरोन्नतीको विषयमा अख्तियारमा उजुरी परेपछि सरकारले पनि छानविन समिति गठन गरेको कोशी प्रदेश स्वास्थ्य मन्त्राललयकी सचिब डा.सुधा देवकोटाले बताएकी छन् । ‘यसअघि मन्त्रालयले पनि समिति बनाएको थियो । त्यसपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अहिले छानविन समिति गठन गरेको छ’ उनले भनिन्, ‘त्यो समितिले काम गर्दै आएको छ ।’
स्वास्थय मन्त्रालय निकट स्रोतका अनुसार मोटो रकमको लेनदेनमा गोल्डेनलाई अनुमति दिइएको थियो । कानुन मिचेर अस्पताललाई अनुमति दिने विषयमा तत्कालिन मन्त्री यादव र मन्त्रालयका सचिवबीच विवाद भएकोमा मन्त्री यादवले मन्त्रीस्तरीय निर्णयबाट अनुमति दिएको एक कर्मचारीले बताए ।
विवादमा मुछिएका तत्कालिन स्वास्थ्यमन्त्री यादवले भने गोल्डेनलाई कानुन अनुसार आफूले सय शय्या स्तरोन्नती गरि सञ्चालनको लागि अनुमति दिएको दावी गरेका छन् । ‘त्यसबेला निवेदन आएपछि हस्पिटलले प्रतिवद्धता गरेको थियो’ उनले भने, ‘उसको प्रतिबद्धता अनुसार हामीले अनुमति दियौं ।’ अस्पतालले प्रतिबद्धता अनुसार भवन निर्माण गरेर अस्पताल सञ्चालन नगरको भए उ नै जवाफदेही हुने यादवको भनाइ छ ।
विराटनगर ११ मा निमार्णधिन गोल्डेन हस्पिटल । निर्माण सम्पन्न नहुँदै स्वास्थ्य मन्त्रालयले दिएको अनुमति पत्र ।