विराटनगर । तराईमा उत्पादित दुधबाट छुर्पी बन्छ कि बन्दैन ? बने पनि गुणस्तरीय बन्छ ? गत वर्षदेखि तराईको दुधबाट छुर्पी उत्पादन गर्न थालिएको छ । हाल तराईमा अत्याधिक दुध उत्पादन भइरहेको छ । दुध बढी हुँदा दुधबाट उत्पादित पाउडर तथा घिउ बजारमा लाखौं किलो स्टकमा छ । तर, छुर्पी भने विदेश निर्यात भइरहेको छ । छुर्पीको निर्यात बढ्दै जानु र तराईको दुधबाट छुर्पी उत्पादन सुरु हुनुलाई सुखद संयोग मान्नुपर्छ ।
मोरङ कानेपोखरीमा रहेको नवदुर्गा डेरी उद्योगका संचालक राजकुमार खनालले गत वर्ष र अहिले गरेर झण्डै ६० हजार लिटर दुध इलामका दुई उद्योगमा पठाए । उक्त उद्योगले उत्पादन गरेको छुर्पीको गुणस्तरमा खासै समस्या आएन । ‘एक पटक छुर्पीमा केही कालो दागी बसेको जस्तो देखियो भन्ने आयो । तर, गुणस्तरमा समस्या देखिएन,’ खनालले भने, ‘गत वर्ष राम्रो भएको प्रतिक्रिया आएको थियो ।’
खनालले क्रिम काटेर इलामको सूर्योदय नगरपालिका ९ मा रहेको ढुंगेलधारा डेरी उद्योग फिक्कललाई दुध बिक्री गरेका थिए । उक्त डेरीका संचालक कुमार ढुंगेलले तराईको दुधबाट बनेको छुर्पीको रंगमा फरक परेको तर गुणस्तरमा फरक नपरेको बताए । ‘इलामको दुध मिसाएर छुर्पी बनाएको हो । शतप्रतिशत तराईको दुधबाट बनेको छुर्पीमा कलर भने फरक पर्छ । इलामको दुधबाट बनेको छुर्पी पहेंलो देखिन्छ । तर, तराईको दुधबाट बनेको छुर्पी भने सेतो देखिन्छ,’ उनले अनुभव सुनाए, ‘त्यस्तो हुनुमा भैंसीको दुध मिसावट हुनु मुख्य कारण हो ।’
यद्यपि बिक्रीमा र गुणस्तरमा समस्या नरहेको उनको भनाइ छ । उनको उद्योगमा पनि २ हजार किलोभन्दा बढी घिउ स्टकमा छ । प्रतिकिला ५ सय रुपैयाँमा पनि घिउ बिक्री हुन छोडेको उनको गुनासो छ । त्यही भएर उनले क्रिम काटेको दुध मोरङबाट लगेका हुन् । ‘इलाममा पनि दुध नपाइने होइन । तर, घिउ बिक्री हुन छाडेका कारण क्रिम काटेको दुध मगाएको हुँ,’ उनी बताउँछन् ।
यस्तै इलाम सूर्योदय नगरपालिका ८ नम्बर वडामा रहेको कञ्चनजंगा डेरी उद्योगले पनि खनालको डेरीबाट गत वर्ष झण्डै ३५ हजार लिटर दुध लगेको थियो । उद्योगका संचालक महेश अर्यालले तराईबाट इलाममा लगेर छुर्पी बनाउन सकिने देखिएको बताए । ‘दुधको गुणस्तरमा ह्रास नआउने हो भने छुर्पीको गुणस्तरमा पनि समस्या आउँदैन । तर, दुधमा केमिकल मिसाउने, गाईवस्तुलाई दिने दाना पानीमा जथाभावी औषधि खुवाउने गरेको दुध भए समस्या आउँछ । चिसो ठाउँमा ल्याएर विविधीकरण गर्न सकिन्छ,’ उनले भने, ‘अहिलेको समस्या घिउ नबिक्ने समस्या हो । भैंसीको दुध भएको कारण कलरमा समस्या भयो । तर, तराईको १ हजार लिटरमा इलामको १५ सय लिटर मिसाएर बनाएको छुर्पीमा कुनै समस्या देखिएन ।’
उनीहरुले उत्पादन गर्ने डक्स छुर्पी नै हो । बजार व्यवस्थापन गर्न सकेदेखि तराईको दुध ल्याएर छुर्पी बनाउँदा कुनै समस्या नपर्ने उनी बताउँछन् । ‘त्यसका लागि समयको व्यवस्थापन भने गर्न सक्नुपर्छ,’ अर्यालले भने । उनले तराईको दुध ३५ हजार लिटरभन्दा बढी लगेको बताए । उनको डेरी उद्योगमा पनि ३ हजार किलोबढी घिउ स्टकमा रहेको छ । छुर्पी राम्ररी चलिरहँदा घिउको बजार भने कमजोर बनेको उनको भनाइ छ ।
इलामको सूर्योदय नगरपालिका ९ मा रहेको हलेंसी डेरी उद्योग फिक्कलले दैनिक ४ हजारदेखि ५ हजारसम्म दुध संकलन गर्छ । उद्योगका संचालक किरण भण्डारीले महिनामा ६ हजारदेखि ७ हजार किलोसम्म छुर्पी बिक्री भइरहेको बताउँछन् । ‘घिउमा भने समस्या रहेको छ । छुर्पी पनि मज्जाले गएको छैन । छुर्पी उत्पादन बढेको कारण बिक्रीमा पनि समस्या आउँदैछ,’ उनले भने, ‘धेरै समस्या घिउमा छ । २२ हजार किलोसम्म घिउ थन्किएको छ । यसको बजार कहाँ खोज्ने, कसरी बेच्ने समस्या आयो ।’ जेठदेखि स्टकमा रहेको कतिपय घिउ बिग्रिसकेको उनको दाबी छ । उनको विचारमा भारतबाट अवैध तरिकाले घिउ र दुध आइरहेको कारण समस्या भएको हो ।
तराईको दुधबाट इलाममा छुर्पी बनाउन सकिने प्रयोग सफल हुँदै जाँदा कतिपय विराटनगरका व्यापारीले पनि चासो राख्न थालेका छन् । विराटनगरमा रहेको बञ्जरा एग्रोले अहिले दैनिक १५ सय लिटर दुध उत्पादन गर्छ । विगतमा जस्तो सहज ढंगले दुध बिक्री भइरहेको छैन । विराटनगरबाट उत्पादित दुधबाट छुर्पी बन्नसक्ने कुराले आफूहरु पनि आशावादी हुने बञ्जरा एग्रोका प्रबन्धक सञ्जय चापागाईं बताउँछन् । ‘दुधको विविधीकरण गर्ने कुरामा यो पनि एउटा विकल्प हुने देखिन्छ,’ उनले भने, ‘छुर्पी बनाउन सकेदेखि लामो समयसम्म स्टोरेज गर्न पनि सकिने हुँदा दुधको बजार भन्दा छुर्पीको बजार खोज्न सकिने अवस्था देखिन्छ ।’
नेपालको छुर्पी विदेश निर्यात हुने गरेको छ । छुर्पीको निर्यात भने बढिरहेको भन्सार विभागको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७९/०८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो ।
आर्थिक वर्ष २०७९/८० को असोज महिनासम्ममा छुर्पी ३ लाख १९ हजार ५१२ किलोग्राम निर्यात भएको छ । जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालू आर्थिक वर्षको असोजसम्ममा छुर्पी ३ लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पनि २ अर्ब ९१ करोड १९ लाख ३९ हजार बराबर मूल्यको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो । नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिंगापुरलगायतका मुलुकमा कुकुरको खानाको रुपमा छुर्पी निर्यात हुने गरेको छ ।