उदयपुर । उदयपुर जिल्ला अस्पतालले बिरामीलाई अन्यत्र रेफर गर्दा चिकित्सा सहायता प्रदान गर्ने कार्यक्रम आरम्भ गरेको छ । नवजात शिशुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै जिल्ला अस्पतालबाट उपचारका लागि अन्य बाहिर अस्पताल लैजान परेमा अस्पतालले शिशुसँगै चिकित्सक पनि पठाउने कार्यको सुरुवात गरेको हो ।
नवजात शिशुको उपचारको लागि जिल्ला अस्पतालले एसएनसियुको व्यवस्था गरेको भएपनि भेन्टिलेटर अभावमा कतिपयलार्य थप सुविधासम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था भएकोले त्यस्ता बिरामीलाई चिकित्सकसहित रेफर गर्ने व्यवस्था सुरुवात गरेको हो । नवजात शिशुको स्वास्थ्य संवेदनशीलताप्रति गम्भीर हुँदै अर्को अस्पतालसम्म लैजाँदा बाटोमै हुनसक्ने दुर्घटनालाई न्युनीकरण गर्न कार्यक्रम प्रभावकारी हुने अस्पतालको विश्वास रहेको डा. निर्मला चौधरीले बताइन् ।
बच्चा जन्मेको समयबाट २४ घण्टासम्म बाहिरी मौसममा घुलमिल हुन् समय लाग्ने र त्यो समयमा नवजात शिशुलाई बाहिरी संक्रमणको जोखिम उच्च रहने हुँदा बच्चासँगै चिकित्सक रहनु पर्ने भएकोले सेवा प्रभावकारी हुनसक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट ज्ञानेन्द्र झाले बताए ।
नवजात शिशुलाई अन्यत्र अस्पतालमा लैजाँदा लाग्ने खर्च त्रियुगा नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाएको नगर प्रमुख बसन्त बस्नेतले बताए ।
एउटा अस्पतालबाट अन्यत्र रेफर गरेर लैजाँदा नवजात शिशुहरुको मृत्युहुने दर धेरै रहेकोले त्यसलाई घटाउन नगरपालिकाले त्यसमा सहयोग गर्ने निर्णय लिएको प्रमुख बस्नेतले बताए । उनले यस प्रकारको सेवा त्रियुगाले देशमै पहिलो पटक आरम्भ गरेको भन्दै सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको पनि बताए ।