औषधि पसलको लापरवाही,कोल्ड चेनमा नराखेको भ्याक्सिन बरामद

दुई दर्जन फार्मेशीबाट भ्याक्सिन बरामद गरी नष्ट गरिएको छ ।

विराटनगर । यहाँका औषधि पसलहरूले स्वास्थ्य मापदण्ड पूरा नगरी बिरामीलाई आवश्यक पर्ने खोप (भ्याक्सिन) खुल्ला ठाउँमा राखेर विक्री वितरण गर्ने गरेको पाइएको छ ।

निश्चित तापक्रम खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन फार्मेशीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरले अनुगमनको क्रममा भेटिएको हो ।बिरामीको स्वास्थ्यप्रति कुनै चासो नराखि जसरी पनि पैसा कमाउने उद्देश्य राखेर केही फार्मेशीहरुले म्याक्सिनको उचित व्यवस्थापन नगरी बिक्री वितरण गरेको पाइएको छ । यसरी भ्याक्सिनको तापक्रमको उचित व्यवस्थापन नगरी बिक्री वितरण गर्ने कोशी प्रदेशको तराइको जिल्ला र पहाडी क्षेत्रमा फार्मेशीहरू अधिकरहेको औषधि व्यवथा विभाग विराटनगरले जनाएको छ ।

औषधि व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा झापा, मोरङ, सुनसरी, इलाम र सिराहको फार्मेशीहरूले भ्याक्सिन कोल्ड चेनमा नराखेको पाइएको छ । यसरी कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन नराखि बिक्रीको लागि राखेको पाइएपछि औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बताए ।

अनुगमनको क्रममा २२ वटा फार्मेशीले उचित मात्रामा कोल्ड चेनमा नराखी खुल्ला ठाउँमा भ्याक्सिन राखेको पाइएपछि बरामद गरी नष्ट गरिएको बताए । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा रहेको सिर्जना मेडिकल हलबाट ६० हजार मूल्य बरावरको भ्याक्सिन खुल्ला ठाउँमा राखेर बिक्री गरेको पाइएको उनले बताए । सिर्जना फार्मेशीले इन्सुलिन, हर्मनल, टिटी, ऐन्टि रेविज भ्याक्सिनहरु खुल्ला ठाउँमा राखेर बिक्रीमा राखेको अनुगमनको क्रममा पाइएपछि बरामद गरिएको उनले बताए ।

भ्याक्सिनलाई निश्चित तापक्रममा खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा सुरक्षित राख्नु पर्दछ । खोपमा रहेको गुण र यसको प्रभावकारितालाई कायम राख्न उत्पादनदेखि लगाउने समयसम्म तोकिएको तापक्रममा भ्याक्सिन राख्नुपर्दछ । यो प्रक्रियालाई नै कोल्ड चेन भनिन्छ । कोल्ड चेन, भ्याक्सिन व्यवस्थापनको महत्वपूर्ण र चुनौतीपूर्ण पाटो हो । ‘भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस सम्मको स्टोर क्षमता भएका कोल्ड चेनमा राख्नुपर्ने हुन्छ,’ विभागका प्रमुख मिश्रले भने, ‘त्यसपछि मात्र भ्याक्सिन सुरक्षित हुन्छ ।’ यसरी कोल्ड चेनमा तापक्रम नमिलाइ राखेको भ्याक्सिनले कुनै काम नगर्ने उनले बताए । त्यही भएर बाहिर राखिएको भ्याक्सिनहरु बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए । ‘अनुगमनका क्रममा खुल्ला ठाउँमा राखिएका भ्याक्सिनहरु बरामद गरेर नष्ट गरेपछि हामीले फर्मेशीहरुलाई सचेत पनि गराएका छौं । बिरामीका लागि आवश्यक पर्ने भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर मात्र बिक्री वितरण गर्न निर्देशन दिने गरेका छौं,’ उनले भने, ‘अटेर गरी फेरि पनि भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर बिक्री नगरेको पाइए त्यस्तो फार्मेशीलाई हामी कारवाहीको दायारमा ल्याउनेछौं ।’

बिहिबार, १६ कार्तिक, २०८०, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर