काठमाडौं । नेपालमा पर्यटक आगमनमा इतिहासकै रेकर्ड ब्रेक भएको छ । सन् २०२३ को अक्टोबरमा आएका पर्यटकको संख्याले रेकर्ड तोडेको हो ।
पर्यटन बोर्डका अनुसार अक्टोबरमा १ लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो ।
यसअघिका महिनाहरूमा मासिक १ लाखसम्म पर्यटक घुम्न आएका थिए । कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बृद्धि भएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । त्यो रेकर्ड यस वर्ष तोडिएको हो ।
कोभिडअघि अर्थात् सन् २०१९ को अक्टोबरमा १ लाख १० हजार ६२२ पर्यटक आएका थिए । त्यसपछि क्रमशः २०२० को अक्टोबरमा १ हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए ।
अक्टोबरमा भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ०७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक आएका छन् । तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा ८ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन् ।