धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १७७ चिकित्सकले राजीनामा दिएपछि उपचार सेवासँगै अध्यापन पनि प्रभावित भएको छ ।
सात वर्षदेखि रोकिएको वृत्तिविकासका प्रक्रिया नियमित हुनुपर्ने भन्दै चिकित्सकले राजीनामा दिएका थिए । चिकित्सकहरुले दुई साताअघि सामूहिक राजीनामा दिएर ड्युटी छाडेपछि प्रतिष्ठानमा उपचार सेवासँगै चिकित्साशास्त्रको पठनपाठन र अनुसन्धान प्रभावित भएको हो ।
लामो समयदेखि सेवा अबरुद्ध भएपनि चिकित्सकहरुका मागको सम्बोधन हुन सकेको छैन । प्रतिष्ठानका शिक्षक चिकित्सकको बढुवा सात वर्षदेखि रोकिएको छ ।प्रतिष्ठानको शिक्षक कल्याण समाजका अनुसार कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले अघिल्ला पदाधिकारी र कार्यकारिणी समितिले गरेका निर्णयहरुलाई बेवास्ता गर्दै लोकसेवा आयोगलाई पत्राचार गरेपछि आन्तरिक पदोन्नति प्रक्रिया रोकिएको थियो ।
उपकुलपति कार्कीले नयाँ नियमावली नबनेकाले आयोगको स्वीकृतिविना आन्तरिक पदोन्नति गर्दा अवैधानिक हुने दाबी गरेका छन् । बढुवा लगायतका विषयमा निजामती सेवाका कर्मचारीका लागि नयाँ नियमावली नबनेको अवस्थामा पनि उनीहरुको पदोन्नति भइरहेकाले आफूहरुको पनि पुरानै नियमावली अनुसार प्रक्रियालाई निरन्तरता दिनुपर्ने चिकित्सकहरुको माग छ ।
प्रतिष्ठानको शिक्षक कल्याण समाज र पदाधिकारी आआफ्नै अडानमा छन् । राजनीतिक दलका प्रतिनिधिहरुले आन्दोलनरत पक्षसँग बैठक गरेर कुरा सुनेपनि समस्या समाधान भएको छैन । प्रतिष्ठान व्यवस्थापन र आन्दोलनकारी दुवै पक्षलाई एकै ठाउँ राखेर समस्या समाधानको पहल भने दलहरुले गरिरहेका छन् ।
नेकपा एमाले एमाले धरानका अध्यक्ष हर्कराज एभेङले चिकित्सकहरुको पदोन्नति प्रक्रिया सुरु गराउन पदाधिकारी, कार्यकारिणी समिति र सिनेट लाई दबाब दिने बताए । उपकुलपति प्राडा प्रल्हाद कार्की र रजिष्ट्रार सूर्य संग्रौला स्वास्थ्य मन्त्री र प्रधानमन्त्री भेट्न काठमाडौंमा रहेकोले उनीहरु फर्कनासाथ निकासका लागि दलहरुले पहल गर्ने उनको भनाइ छ ।
आन्दोलनरत पक्षका चिकित्सक डा.मधुर बस्नेतले दलहरूले चिकित्सकको आन्दोलनमा चासो देखाउनु सकारात्मक भएको बताउँदै पदाधिकारी जिम्मेवार भएर काम नगर्दा यो अवस्था आएको बताए । तत्कालीन उपकुलपति डा.ज्ञानेन्द्र गिरीले २०६९ पुस २० र माघ २५ को मितिमा शिक्षकहरूको आन्तरिक बढुवा गर्ने भनी सूचना प्रकाशित गर्दै प्रक्रिया सुरु गरेका थिए । तर, भ्रष्टाचारको अभियोग लागेर उनी निलम्बित भएपछि आन्तरिक पदोन्नति प्रक्रिया रोकियो ।
शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमदका अनुसार कामु उपकुलपतिमा कार्की आएपछि सबै प्रक्रिया अवरुद्ध भएको हो । नयाँ नियमावली नभएपछि शिक्षक कर्मचारीको बढुवा २०५५ कै नियमावलीको आधारमा हुनुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।
चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई गत असोज २६ देखि लागू हुनेगरी सामूहिक राजीनामा नै बुझाएका थिए । तर, समस्या समाधानको लागि मन्त्रालयले पनि अझै कुनै पहल गरेको छैन ।