संखुवासभा अस्पतालबाट २ हजार बढीले लिए निःशुल्क सेवा

संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निःशुल्क उपचार गराएका छन् । इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट पाउने व्यवस्था भएकोले सर्वसाधारणले त्यस्तो सुविधा उपभोग गरेका हुन् ।

स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले दिएको सुविधाले ठूलो राहत मिलेको छ । सामाजिक सेवा इकाई मार्फत एक वर्षको अवधीमा २ हजार ७३७ जनाले सेवा लिएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

सूचना अधिकारी खत्रीका अनुसार जिल्ला अस्पतालमा सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा ज्येष्ठ नागरिक १६ सय ५७ जना, आर्थिक रूपमा अति विपन्न ७१५ जना र लैङ्गिक हिंसा पीडित ६३ जनाले छन् । त्यस्तै साउन महिना यता ६७५ जनाले यो सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । सामाजिक सेवा इकाईमार्फत प्रदान गरिएको उपचार सेवामा संखुवासभा अस्पतालको ३७ लाख १० हजार ३४२ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । जसमध्ये संघीय र प्रदेश सरकारबाट ३० लाख र अस्पताल विकास समितीबाट ७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको छ ।

विभिन्न लक्षित समूहका बिरामीले स्वास्थ्य उपचारको लाभ लिएका छन् । अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी लगायतका सेवा संचालनमा छ । त्यस्तै गरी जिल्ला अस्पतालमा एक वर्षको अवधीमा ५३ हजार ८४ जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमबाट गत आर्थिक बर्षमा १८ हजार ७ सय २५ जनाले सेवा लिएका छन् । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।

मङ्गलबार, १४ कार्तिक, २०८०, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर