हृदयघात भएका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको चीनमै उपचार

काठमाडौं । हृदयघात भएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको चीनको बेइजिङमै उपचार हुने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी दिएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे प्रधानमन्त्रीले जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् । बिआरआई फोरममा सहभागी हुन असोज २९ गते चीन गएका उपप्रधानमन्त्री श्रेष्ठले छाती दुख्यो भनेपछि बुधबार राति अस्पताल भर्ना गरिएको थियो ।

उनको अवस्थाका बारेमा बेइजिङस्थित राजदूतबाट सरकारले जानकारी लिइरहेको मन्त्री शर्माले बताइन् । शर्माका अनुसार मन्त्री श्रेष्ठ अहिले बोल्न सक्ने अवस्थामा छन् । श्रेष्ठ डिस्चार्ज हुन दुई-चार दिन समय लाग्न सक्ने उनले बताइन् ।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको थियो । स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भएको थियो । उनलाई अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको छ ।

अस्पतालले २४ घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । श्रेष्ठलाई राति १२ बजे हृदयाघात भएको हो।

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ । उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न ‘स्टेन्ट’ राखिएको अस्पतालले जनाएको छ ।

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेको र उनको अवस्था स्थिर अत्यावश्यक संकेतहरूका साथ पूर्ण रूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ ।

उनको बेइजिङस्थित इन्टरनेशनल मेडिकल साइन्सेज हस्पिटलमा उपचार भइहरको छ । उपचारमा संलग्न चिकित्सकले श्रेष्ठको कोरोनरी आर्टरी ब्लकेज भएको बताएका छन् । राति नै तुरुन्तै मुटुको एन्जीओप्लास्टी गरिएपछि उनको अवस्था अहिले स्थित रहेको श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठको आइसीयूमा राखेर उनको उपचार चलिरहेको र अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएको सचिवालले जानकारी दिएको छ । तीन दिनअघि श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका थिए । उनी शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो ।

बिहिबार, ०२ कार्तिक, २०८०, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर