विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि जेल चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधवार डाक्टर कर्णसहित कटहरी ४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई पनि पुर्पक्षको लागि जेल चलान भएका हुन् ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जना विरुद्ध मुद्दा दायर भएको थियो । ६ जना मध्ये तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन् । मोरङ कटहरी – २ आदर्श टोलकी ३३ बर्सिया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ बर्सिया नर्स निर्मला यादवलाई १ लाख , र ४७ बर्सिया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा छोडन अदालतले आदेश दिएको छ । धरौटि रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरू विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । भोजपुर हतुवा गढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ बर्सियाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा।कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ । कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ ।
आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा। कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानले खुलेको छ । प्रहरीले यस घटनामा ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिन क्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।