अस्पतालबाट शिशु विक्री प्रकरण,डा : कर्णसहित ६ जनाविरूद्ध आज मुद्दा दायर हुँदै

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध आज सोमबार मुद्दा दर्ता हुने भएको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाले सोमबार मोरङ अदालतमा अभियोग दर्ता गर्ने तयारी गरिएको हो ।

अदालत स्रोतले दिएको जानकारी अनुसार डाक्टर कर्णसहित ६ जनालाई प्रतिवादी बनाएर तीन वटा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरुलाई अपहरण, व्यक्ति वेपत्ता, एकीकृत कसुर र संगठित अपराध मुद्दामा प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने तयारी गरिएको हो ।

प्रहरीले अनुसन्धान पूरा गरेर शुक्रबार प्रतिवेदन बुझाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘हामीले अनुसन्धान पूरा गरेपछि प्रतिवेदन बुझाएका छौं । अब सरकारी वकिलको कार्यालयले अभियोजन तयारी पारी अभियोग दर्ता गर्नेछ,’ उनले भने ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता रोहित पोखरेलले अनुसन्धान प्रतिवेदन आएको र अभियोजन बनाउने काम भइरहेको बताए । ‘अनुसन्धान प्रतिवेदन हेरेर अभियोजन तयार गरिदैछ । अब कतिवटा मुद्दा जान्छ त्यसै दिन थाहा हुन्छ ।’

नवजाजत शिशु बिक्री गरि बेपत्ता पारेको कसुरमा कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डाक्टर कर्णसहित ७ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा नवजात शिशुलाई जन्म दिएको हस्पिटल ग्रिनक्रसका संचालक कृष्ण खवास पनि छन् । खवासको व्यवस्थापकीय भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले खवासलाई मतियार बनाएको छ । तर, जिल्ला सरकारी वकिलको कार्यालयले उनको संलग्नता नदेखिने भएकोले प्रतिवादी नबनाएर हाजिरी जमानतमा छोडिदिने तयारी गरेको छ ।

प्रहरीले यस घटनामा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सफाइकर्मी,  पाँच लाख लिएर शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहा कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बाबु भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए । शिशु खरिद गर्ने राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ ।

कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोरा–बुहारीको सन्तान नभएकोले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ । असार १३ गते अविवाहित महिलाले ग्रिनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डाक्टर कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारका लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताइन् ।

सोमबार, २२ असोज, २०८०, बिहानको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर