विराटनगर । डेंगु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए ।
कोशी प्रदेशको १४ जिल्लामै डेंगु फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार दुई सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा दुई हजार नौ सय ६४ जना सङ्क्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एक जनाको मृत्यु भएको छ ।
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा बिरामीको उपचार भइरहेको छ । साउनदेखि हालसम्ममा तेह्रथुममा दुई सय ११, पाँचथरमा तीन सय ३८, इलाम पाँच सय ३५, उदयपुर आठ सय १६, धनकुटामा चार सय ३२, भोजपुरमा तीन सय ३१, संखुवासभामा आठ सय ६७, ओखलढुङ्गा ४०, ताप्लेजुङमा ३३ र खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगुका बिरामी फेला परेका छन् ।डेंगुको सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्नेलगायतका कामसहित जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपिसङ्क्रमितको संख्या झन् बढ्दो रहेको छ ।
स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगुको मुख्य लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण बिरामीमा देखिने चिकित्सकको भनाइ छ । डेंगुको संक्रमण तीव्र भएका कारण अहिले ज्वरो आउँदा पारासिटामोल मात्रै प्रयोग गर्न र तत्कालै चिकित्सकलाई देखाउन स्वास्थ्यकर्मीको सुझाव छ ।