भारतको केरलामा निपा भाइरस संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर । भारतको दक्षिणी राज्य केरलामा निपा भाइरस सङ्क्रमणबाट दुई जनाको ज्यान गएको छ । निपा भारइस सङ्क्रमणका कारण केरला राज्यको कोजिकोडे जिल्लाका दुईजना बिरामीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मृतकका दुई जना नातेदारमा पनि निपा भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालमा उनीहरूको उपचार चलिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण जनावर वा पशुपक्षीबाट मानिसमा सर्ने जुनोटिक बिमारीुहो जुन सुँगुर या चमेरा प्रजातिबाट मानिसमा सर्ने गर्छ। यो प्रदूषित खानेकुरा वा सङ्क्रमित मानिससँगको संसर्गबाट पनि सर्न सक्छ।यो भाइरस सरेका बिरामीहरूमा मृत्यु दर उच्च हुन्छ । यो सङ्क्रमणको उपचार गर्न औषधी या खोप उपलब्ध छैन ।

केरलामा निपा भाइरस फैलिएपछि कतिपय बस्तीहरूमा आवतजावत बन्द गरिएको छ । कोजिकोडेमा सन् २०१८ मा पहिलो पटक घातक निपा भाइरस सङ्क्रमणको प्रकोप भएको थियो ।

केरलामा निपा भाइरसको संक्रमण देखिएपछि भारत सरकारले उक्त स्थानमा मोबाइल ल्याब पठाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार उक्त टोली प्रभावित जिल्लामा पठाइएको हो ।

केरलामा शनिबार सम्म शैक्षिक संस्था बन्द गरिएको छ ।

शुक्रबार, २९ भदौ, २०८०, बिहानको ०९:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर