विराटनगर। औद्योगिक नगर विराटनगरका उद्योगी व्यवसायीहरुले यसपटकको बजेटप्रति मूलतः सकारात्मक टिप्पणी गर्दै चुनौतीपूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताएका छन ।
कोशी प्रदेशका विभिन्न निजी क्षेत्रका संघ संगठनहरुको प्रतिनिधित्वसमेत गर्ने ती उद्योगी व्यवसायीले आर्थिक वर्ष २०८०/०८१ का लागि आएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिँदै विगतमा पनि कार्यान्वयन पक्ष फितलो हुँदा परिणाम अपेक्षाकृत नआएको बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजेट सरसर्ती हेर्दा राम्रो रहेको बताए । ‘बजेटले पूर्वपश्चिम राजमार्ग चार लेनको बनाउने, सन २०२३/०३३ लाई पर्यटन दशक अभियान चलाउनु, आगामी आ. व. युवा उध्मशीलता वर्षको रुपमा मनाउनु, स्टार्ट अप व्यावसायको प्रवद्र्धन गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय रुपमा स्तरोन्नति गर्ने, विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिने, विराटनगर भन्सारमा पार्किङ र गोदाम घर निर्माण आदिमा बजेट विनियोजन हुनु सकारात्मक छ’, उनले भने ‘तर विराटनगरको रिङ्गरोड, विशेष आर्थिक क्षेत्र तथा प्रदर्शनी स्थलको बारेमा मौन हुनु, निर्यातको अनुदान रकम कम हुन्, ढुंगा गिट्टी निर्यात गर्न दिने नीति सकारात्मक देखिदैन।’ उनले बजेटको कसिलो कार्यान्वयनमा सफलता–असफलता निर्भर हुने पनि बताए।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले समग्रमा बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिए । ‘स्वदेशी उद्योगका बस्तुहरूको प्रवद्र्धन गर्न विराटनगरमा प्रर्दशनी स्थलको उद्योगी व्यवसायीहरुले माग गर्दै आएका थियौं । तर, यसपालीको बजेटले पनि समेटन सकेन,’ उनले भने, ‘यो दुःखद पक्ष हो ।’ बजेटको अर्को राम्रो पक्ष भनेको हाइड्रोपावर रहेको उनले बताए । करको दायराको विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकारले लिएका केही नीतिका कारण अर्थतन्त्र चलायमान बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘बजेटको कार्यान्वयन प्रमुख विषय हो तर आयात खुलाको नीति राम्रो छ । जग्गाको कित्ताकाट खोल्नुले पनि अर्थतन्त्र चलायमान हुन्छ । नेपालमा समस्या भनेकै कार्यान्वयनको समस्या हो ।’ उनले विकास निर्माणको कामलाई कडाइ गर्ने नीति लिनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
उद्योगी महेश जाजुले कर्णप्रिय बजेट आएपनि आफूहरुको चासो कार्यान्वयनतर्फ नै रहेको प्रतिक्रिया दिए । उनले भने , ‘आगामी दिनमा के कसरी कार्यान्वयन हुन्छ भन्ने नै प्रमुख कुरा हो । बजेटको पूर्णपाठ आएपछि थप भन्न सकिन्छ । के कस्ता कुरामा कति बजेट थपियो वा कटौती भयो हेर्न बाँकी छ ।’ उनले आर्थिक मन्दीको कुरालाई सम्बोधन गर्ने बजेट आएकोले यसबाट देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने बताए ।
उद्योगी अनिल शारडाले सरकारले धेरै खर्च नगर्ने प्रतिवद्धता जनाएको र यसले सरकारको पूँजीगत खर्च गर्ने क्षमता झन् कमजोर हुनसक्ने बताए । ‘आयोजनाका प्रमुखहरु फेरबदल नगर्ने कुराले भने संचालित परियोजनालाई निरन्तरता दिन सहयोग पुग्ने देखिन्छ । यो राम्रो पक्ष हो किनभने यसले आयोजनाहरुलाई निरन्तरता दिन सहयोग पुग्छ,’ उनले भने।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।