कोशी अस्पतालमा कर्मचारी नियुक्तिको तयारी, डोर हाजिरमा काम गर्ने कर्मचारी आन्दोलित

विराटनगर ।   विराटनगरस्थित कोशी अस्पतालका डोर हाजिरमा काम गर्ने कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले करारमा नियुक्त गरिनुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् ।

१५ वर्षदेखि डोर हाजिरमा काम गर्दै आएका करिब ७० जना कर्मचारीहरूले करारमा नियुक्ति गरिनुपर्ने भन्दै शुक्रबार सरसफाइ कार्यक्रम रोकेर विरोधमा उत्रिए । डोर हाजिरमा काम गर्ने कार्यालय सहयोगी र स्वीपर रहेका छन् ।

भएका ज्यालादरीका कर्मचारीलाई बाइपास गरेर अस्पतालले करारमा ७ जना कार्यालय सहयोगी नियुक्त गर्ने तयारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् । आकिस्मक कक्ष र एनआइसियू संचालन गर्ने भन्दै अस्पतालले करारमा कर्मचारी नियुक्ति गर्ने तयारी गरेको हो ।
यहाँ कार्यरत डोरहाजिरका कर्मचारीहरुले भने भएका कर्मचारीहरु व्यवस्थापन गरेर १५ वर्षदेखि काम गर्दै आएका ज्यालादारी कर्मचारीलाई करारमा नियुक्त गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिनुपर्ने अवस्था अएको बताएका छन् । ‘हामी वर्षौदेखि ज्यालादरीमा काम गर्दै आएका छौं । आजसम्म कोशी अस्पतालमा काम गरेको १५ वर्ष भइसक्यो । तर, हामीलाई राज्यले स्थायी वा करारमा नियुक्त गर्ने चासो देखाएन,’ एक जना ज्यालादारी कर्मचारीले भने, ‘अहिले हस्पिटलमा करारमा कार्यालय सहयोगी नियुक्त गर्ने तयारी गरिएको छ । यहाँ भएका कर्मचारीलाई नियुक्त गर्नुको साटो बाहिरबाट आफ्नो मान्छे ल्याउने खेलमा हस्पिटल प्रशासन लागि परेको छ ।’

यता अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले अस्पतालमा थप नयाँ सेवा सुचारु गर्ने भएकोले दक्ष जनशक्ति थप गर्ने तयारी गरिएको बताए । ‘कोशी अस्पतालको आकस्मिक कक्षभित्र ल्याब र फार्मेसी संचालन गर्ने तयारी गरिएको छ । त्यसँगै बच्चाको एनआइसियू पनि संचालनको तयारी छ,’ उनले भने, ‘त्यसको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । त्यही भएर केही संख्यामा यसअघि हस्पिटलमा भोलिन्टियर्स गर्दै आएका दक्ष व्यक्ति छनौट गरिने भनिएको हो ।’

आइतबार, १४ जेठ, २०८०, बिहानको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर