अरुण तेस्रो जलविद्युत आयोजनाको छुट जग्गाको मुआब्जा निर्धारण

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा सडक खण्डको जग्गा छुट मुआब्जाको दररेट निर्धारण गरिएको छ ।

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ कि.मी. ) सडक खण्डको जग्गा छुट मुआब्जाको दररेट निर्धारण भएको हो । सरकारले जग्गा अधिग्रहण गरेको करिव १४ बर्षपछि स्थानीयले जग्गाको मुआब्जा पाएका हुन् ।

स्थानीयवासीले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्य सम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । २०७५ चैत १ मा संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङ अन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्या सम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरेको थियो ।

छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ रहने गरि दर निर्धारण गरेको छ । केही दिन अघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जा दर निर्धारण गरेको हो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाहरुबीच पटक–पटकको छलफलपछि दर निर्धारण भएको हो ।
२०४६ सालमा मुआब्जा वितरण भएको तर २०५१÷५२ मा नापी हुँदा सरकारी स्वामित्वमा लगत कट्टा हुनुपर्नेमा ब्यक्तिको नाममा भएको पछि २०६६/६७ सालमा लगत कट्टा हुदाँको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन गरेको थियो । सो सूचनाका आधारमा आवेदन परेकाहरुबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले ४ सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ । मुआब्जा दर निर्धारण भएसंगै स्थानीय खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहज रुपमा हुने अपेक्षा लिइएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ । आयोजनाको कुल लागत १ खर्ब ४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

शुक्रबार, १२ जेठ, २०८०, बिहानको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर