उत्पादनमा जोडिने स्थानीय सरकारको काइदा

किसानको साग खरीद गरेर गुन्द्रुक उत्पादन थालेको रोङ गाउँपालिकाले साग र गुन्द्रुक दुवैमा किसानलाई अनुदान पनि दिने नीति लिएको छ ।

विराटनगर । नयाँ संविधान जारी भएपछि सम्पन्न पहिलो स्थानीय निर्वाचनबाट गठित स्थानीय सरकारबीच भ्यू टावर र मूर्ति स्थापनाको होड चल्यो । अनुत्पादक क्षेत्रमा राज्यकोष खर्र्चिएको भनेर आलोचित स्थानीय सरकारहरु दोस्रो कार्यकालमा भने उत्पादनमूलक काममा जोडिन थालेका छन् ।

यसैको ताजा उदाहरण बनेको छ, इलामको रोङ गाउँपालिका । यसपटकबाट गाउँपालिका आफैले गुन्द्रुक उद्योग खोलेर गाउँबासीले उत्पादन गरेको साग खेर जान नदिने नीति लिएको छ । यसले रोङका किसानमा उत्साह सन्चारित गरेको छ ।
रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनसँगै ब्रान्डिङ पनि गर्न थालेको छ । उत्पादनको विधि भने परम्परागत घरेलुभन्दा केही सुधारिएको छ । गाउँपालिकाको पहलमा खुलेको नमुना उद्योगले उत्पादन सुरु गरेको छ ।

गत वर्षकै नीति तथा कार्यक्रममै गुन्द्रुक ब्रान्डिङको योजना बनाएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए । ‘रैथाने र सजिलो उत्पादनका रूपमा गुन्द्रुक उत्पादन र ब्रान्डिङ सुरु गरेका हौं,’ उनले भने । गुन्द्रुक उत्पादन र बजारीकरणका लागि १७ लाख गाउँपालिका, १५ लाख सहकारी संस्था र ३५ लाख स्वीस फन्डिङको आर्थिक अनुदान छ । देवानछाप साना किसान कृषि प्रशोधन उद्योग दर्ता गरेर त्यसमार्फत गुन्द्रुक उत्पादन थालिएको हो । उद्योग व्यवस्थापनको जिम्मा सहकारीलाई दिइएको छ । ‘यो वर्ष ५ देखि ८ सय किलो गुन्द्रुक उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने ।

पालिका उपाध्यक्ष विष्णुमाया खवासका अनुसार उत्पादित गुन्द्रुकलाई आगामी चैत पहिलो सातादेखि प्याकेजिङ गरी बजार पठाउने तयारी भइरहेको छ । ‘ब्रान्डको नाम र मूल्यबारे छलफल गर्दै छौं,’ उनले भनिन्, ‘नाम र दाम टुंगो लाग्नेबित्तिकै उपभोक्तामाझ पठाउनेछौं ।’ पालिकाले आगामी वर्ष ६ वटै वडामा उद्योग विस्तार गरी गुन्द्रुक उत्पादन गर्ने योजना अघि सारेको छ । यसका लागि राष्ट्रिय योजना आयोगसँग बजेट व्यवस्थापनमा सघाउन पनि माग भइसकेको छ ।

अध्यक्ष स्याङ्बोले एक किलो सागमा किसानलाई ६ रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको बताए । अहिले प्रतिकेजी १० रुपैयाँमा साग खरीद गरिरहेको गाउँपालिकाले अनुदान थप्दा प्रतिकेजी १६ रुपैयाँ हुन्छ । गुन्द्रुक बजार पठाउन थालेपछि त्यसमा पनि प्रतिकेजी ८० रुपैयाँ अनुदान दिने नीति गाउँपालिकाको छ ।

‘गुन्द्रुक उत्पादनपछि पालिकाको आर्थिक स्रोतमा टेवा पुग्नुका साथै रोजगारी सिर्जना हुनेछ,’ उनले भने, ‘कच्चा पदार्थ, जमिन र श्रमशक्ति पर्याप्त छ ।’ ६ वडामा प्रत्यक्ष ४ सय र अप्रत्यक्ष करिब ७ सय बढीले रोजगारी पाउने उनको आंकलन छ ।

गाउँपालिकाका अनुसार स्थानीयबासीसँग उत्पादनमूलक काममा स्थानीय सरकार जोडिने कडी नै गुन्द्रुक उद्योग भएको छ । ‘स्थानीय सरकारको सहयोगमा उद्योग खुलेपछि गाउँका किसानले सागको मूल्य पनि पाएका छन्, सरकार उत्पादनमा पनि जोडिएको छ ’, उनले भने ‘यहीक्रमलाई निरन्तरता दिन हामी तरुलदेखि स्थानीय अन्य उत्पादनसमेतलाई संगठित रुपमा बजार पठाउने तयारीमा छौं ।’
रोङ गाउँपालिका ६ रम्भ्याङका किसान भीम प्रधानका अनुसार गाउँपालिकाले साग खरीद गर्न थालेपछि तरकारीमा चलिरहेको व्यापारीको मनपरी रोकिएको छ । ‘गाउँमा व्यापारी आउने, उनीहरुले तोकेको भाऊमा आफ्नो उत्पादन बेच्नुपथ्र्योे’, उनले भने ‘आफैले बजार लिएर जान पनि यातायातकै समस्या छ । व्यापारीले ढुवानीको खर्च भन्दै कम्ती दाम दिन्थे । यसपटकदेखि सागमा चाहिँ त्यस्तो हुन पाएन । हामीलाई ठूलो राहत भएको छ ।’

यस्तो अनुभव गर्ने किसान रोङका घरैपिच्छे भेटिन थालेका छन् । अहिले रोङ–३ को कोल्बुङस्थित गुन्द्रुक फ्याक्ट्रीमा दैनिक पाँच सयदेखि सात सय केजी रायोको साग संकलन हुने गरेको छ । फ्याक्ट्रीकै गाडीले गाउँमै पुगेर साग संकलन गर्ने गरेको छ । नजिकैका किसानले आफै ल्याउने गरेका छन् ।

उद्योगले किसानबाट संकलित साग सफा पानीले धोइन्छ । सागको पानी तारेपछि पात र डाँठ छुट्याइन्छ । ५–५ सेमिको साइज बनाएर डाँठलाई ओइलाउने मेसिनमा राखिन्छ । खाद्य प्राविधिक दीक्षा भट्टराईका अनुसार ३ देखि ४ घण्टा चिसो हावामा राखिन्छ, जसले सागको बाहिरको पानीलाई सुकाउने काम गर्छ । पुनः ४ देखि ५ घण्टा तातो हावामा राखिन्छ । यसले चाहिँ सागभित्रको पानी ५० प्रतिशतसम्म घटाउँछ । तातो हावाका लागि भट्टीमा आगो बालिन्छ । अनि ओइलाएको पात रोलरमा राखिन्छ । रोल गरेको सागलाई प्लास्टिकको ड्रममा खाँदेपछि २८ डिग्री तापक्रम भएको बन्द कोठामा राखिन्छ । ‘करिब ६ दिन जति राखेपछि गुन्द्रुक अमिलियो, अमिलिएन चाखिन्छ,’ भट्टराईले भनिन्, ‘अमिलियो है भन्ने भएपछि निकाले ड्रायरमा सुकाइन्छ । यति गरेपछि गुणस्तरीय गुन्द्रुक तयार हुन्छ ।’

खाद्य प्राविधिकको निगरानीमा तयार हुने गुन्द्रुकको बजार अपार रहेको गाउँपालिकाको भनाइ छ । ‘अहिले पनि बर्सेनि करोडौंको गुन्द्रुक नेपालले आयात गरिरहेको छ’, अध्यक्ष स्याङ्बोले भने ‘स्वदेशकै बजारमा ठूलो सम्भावना छ ।’ उनका अनुसार यसपटक पहिलो वर्ष भएका कारण रायोको मात्रै गुन्द्रुक उत्पादन भएको छ । आगामी वर्षदेखि तोरी र मुलाको गुन्द्रुक तथा सिन्की पनि उत्पादन गर्ने योजना रहेको उनले सुनाए ।

फाल्गुन १६, २०७९, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर