विराटनगर। अबैध रहेको भन्दै गत साउन ५ गते मोरङ प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ८ ट्रक सुपारी दसैं बिदाको मौका छोपेर राजस्व अनुसन्धान कार्यालय इटहरीले छाडिदिएको छ।
प्रहरीले साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको ८ ट्रक सुपारी राजश्वले गुपचुप रुपमा छाडिदिएको पाइएको छ ।
असोज १३ गते राजश्वले सुपारी छाडिदिएको पाइएको छ । राजश्व अनुसन्धान कार्यालयका प्रमुख तीर्थराज खनालले विभागको पत्रअनुसार सुपारी १३ छाडिएको पुष्टि गरे। राजस्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरेर बुझाएको ८ ट्रक सुपारी छाड्न पत्रचार गरेको बताइएको छ ।
मोरङ प्रहरीले विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भई भारतीय मार्गतर्फ जाँदै गरेका अवस्थामा ८ वटा ट्रकमा लोड गरिएको २ लाख १९ हजार ५९६ किलो सुपारी नियन्त्रणमा लिएको छ । त्यसपछि सुपारीका निर्यातकर्ता मनकामना ट्रेडर्सका नविनन घिमिरेले जिल्ला प्रहरीसमेतलाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा गत साउन २६ मा सुपारी छाडिदिन माग गर्दै रिट दायर गरेकोमा रिट बिचाराधिन रहेको बेला सुपारी छाडिएको हो ।
अदालतले घिमिरेका पक्षमा फैसला नदिने आशंकामा रातारात सुपारी कारोबारी समूहको प्रभाबमा सुपारी छाडिएको स्रोतले जनाएको छ । स्रोतका निर्यात भई भारतीय मार्गतर्फ गइरहेको उक्त ८ ट्रक सुपारी प्रहरीले उच्च तहको दबाबमा पक्राउ गरेको थियो। अहिले उच्च तहमै लेनदेन भएपछि सुपारी छाडिएको हो ।
निर्यातकर्ता घिमिरेले साउन २६ मा सुपारी छाडिदिन निवेदन गर्दै उच्च अदालतमा उत्प्रेषण, परमादेश, प्रतिषेधको मुद्दा दायर गरेकोमा अदालतले अन्तरिम आदेश जारी गर्न नमिल्ने निर्णय भदौ २ गते सुनाएको थियो । कानुनतः अनुुसन्धान कारबाही प्रभावित गर्न नमिल्ने भन्दै अदालतले सुपारी छाड्ने आदेश दिन अस्वीकार गरेको थियो ।
अदालतले अन्तरिम आदेश नदिएपछि घिमिरेले असोज ४ मा उच्च अदालतमा रहेको मुद्दा फिर्ता लिएका थिए । मुद्दा फिर्ता लिएपछि मिलेमतोमा राजस्वले सुपारी छाडिदिएको हो ।
यसअघि सुपारीको अनुसन्धान भइरहेको भन्दै आएको राजश्व अनुसन्धान कार्यालय इटहरीले बिनाअनुसन्धान सुपारी छाडेपछि मिलेमताको आशंका पुष्टि भएको व्यवसायीहरु बताउँछन् । उच्च अदालतले सुपारीको डीएनए परीक्षण गराएर नेपालको उत्पादित हो होइन जाँच गराउने स्थिति निर्माण भएपछि सुपारीको अन्तिम सुनुवाइ हुनुअघि नै घिमिरेले रिट फिर्ता लिएर सुपारी निर्यात गरिएको स्रोतले जनाएको छ ।
प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धानमा बुझाएको सुपारी छोडिएको भएपनि निर्यात प्रक्रियामा रहेको थप ४ ट्रक सुपारी भने अझै विराटनगर भन्सारको गोदामै छ। सुपारी दीपक पोखरेलको समूहमा सञ्चालित मनकामना ट्रेडर्सले ल्याएको हो।
सुपारी भन्सार विभागको आदेशले निर्यात रोकिएको भन्सार कार्यालयले जनाएको छ । विभागले निर्यात गर्न दिनू भन्ने आदेश दिएमा मात्र निर्यात हुने भन्सार कार्यालयका सुचना अधिकारी रामचन्द्र ढुंगानाले जानकारी दिए ।
प्रहरीले बरामद गरेर राजश्वले छाडिदिएको सुपारीको मूल्य ८ करोड ६३ लाख ८१ हजार बराबरको रहेको बताइएको छ । इण्डोनेसियाबाट आयात भएको उक्त सुपारी कागजी प्रक्रिया मिलाएर भारत निर्यात गर्न लागेको आरोप लागेको थियो ।
विराटनगर भन्सार कार्यालयबाट इन्डोनेसियाको सुपारी विराटनगरको ६ वटा व्यापारिक फर्मले गत आर्थिक वर्षमा ७५ करोड ४९ लाख ३२ हजार मूल्य बराबरको ५ हजार ७८४ दशमलव २६ मेट्रिकटन सुपारी आयात गरेको थिए । यसबीचमा भन्सार कार्यालयबाट ९० करोड ६७ लाख १८ हजार मूल्य बराबरको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको छ ।
सुपारी सौर्य एयरलायन्सका सञ्चालक झापाका दिपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, विराटनगरका प्रदिप मुरारकाका पिके ट्रेडर्स, विराटनगरका मुलचन्द राठीको तिरुपति ट्रेड लिंक्स र विराटनगरकै सञ्जय अग्रवालको नेसनल मोटर्सको नाममा आयात भएको छ । निर्यात भने मनोकामना ट्रेडर्सको नामबाट मात्र भएको भन्सारको तथ्यांकले देखाएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।