विराटनगर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ७१ दशमलव २२ मा सिमित भएको छ । आइतबार उच्च अंकले भएको वृद्धि आज भने टिक्न नसक्दा कारोबार रकम पनि अर्ब पनि पुगेको छैन ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव ३६ अंकले ओरालो लागेर ३ सय ६६ दशमलव ८४ मा सिमित भएको छ । कूल २ सय ३३ कम्पनीको ३१ करोड ५५ लाख ६ सय ९६ कित्ता शेयर रु ९७ करोड १७ लाख ६७ हजार सात सय १४ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । सामूहिक लगानी कोष भने शून्य दशमलव १२ अंकले उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, विकास बैंक उपसमूहको शेयर मूल्यमा बढी अंकको गिरावट देखिएको छ । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २६ खर्ब ८९ अर्ब ५१ करोड ९१ लाख ३३ हजार ८ सय २ बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ५८ लाख ७७ हजार ४ सय १४ बराबरको कारोबार भयो । नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु ६ करोड ६ लाख १२ हजार ५००, नबिल बैंक रु ४ करोड ८२ लाख २० हजार २ सय ६२, हिमालयन डिस्टिलरी रु ३ करोड ५८ लाख ९१ हजार र लुम्बिनी विकास बैंक रु २ करोड ९ लाख ३९ हजार ३ सय ८३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार, अभियान लघुवित्त ९ दशमलव ९९, एनएमबी हाइब्रिड फण्ड ३ दशमलव ६७, ग्लोबल आइएमई ब्लालेन्स फण्ड पहिलो ३ दशमलव ४९, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड ३ दशमलव २७ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले २ दशमलव ६८ प्रतिशतले कमाएका छन् ।
त्यस्तै गरिमा बैंकको ऋणपत्र ८ दशमलव १३, सिभिल लघुवित्त ६ दशमलव ३३, कृषि विकास बैंकको ऋणपत्र ५ दशमलव ८६, कर्णाली डेभलपमेन्ट बैंक ५ दशमलव ६० र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ३८ प्रतिशतले गुमाएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।