विराटनगर । उद्योग संगठन मोरङले आगामी २०७९ साल २९ मंसिरदेखि ६ पुससम्म विराटनगरमा विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्ने भएको छ ।
यसअघि उद्योग संगठनले माघमा गर्ने भन्दै आएको एक्स्पो झण्डै डेढ महिना अगाडि गर्ने भएको हो । उद्योग परिसंघ प्रदेश १ ले पनि पुसमा अन्तराष्ट्रिय मेला आयोजना गर्ने घोषणा गरिसकेको छ ।
उद्योग संगठले महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण (पुरानो हवाई फिल्डमा) मेला आयोजना गर्न लागेकोे हो । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पोको सातौं संस्करण आयोजना गर्न लागिएको उद्योग संगठनले जनाएको छ । यसअघि २०७९ माघ २६ देखि फागुन ०३ गतेसम्म आयोजना गर्ने तय भई सार्वजनिक समेत गरिएको थियो । ‘अन्य केहि संघ सस्थाहरुले समेत सोहि मितिको सेरोफेरोमा प्रदर्शनी आयोजना गर्ने सार्वजनिक भएको सन्दर्भमा समान प्रकृतिका गतिविधि एकै स्थानमा एकै समयमा गर्दा त्यसको उपादेयताको सान्दर्भिकता नहुने सुझाव प्रायः सबै सरोकारवालापक्षहरुबाट आएकाले संगठनले आफ्नो ऐतिहासिक पहिचान एवं गरिमा बोकेको कार्यक्रमलाई निरन्तरता दिनेगरि र अन्य संघ संस्थाहरुलाई समेत प्रर्दशनी आयोजना गर्न असर नपर्ने गरि तोकिएको मितिभन्दा करिब २ महिना अगाडि अर्थात् २०७९ मंसिर २९ देखि पौष ०६ गतेसम्म बिराट एक्स्पो आयोजना गर्ने निश्चय गरिएको छ,’ उद्योग संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रर्दशनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिलमेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तब्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाका परिकारको व्यवसायिकरणका लागी खाना उत्सव, बिजनेश टु बिजनेश सम्बन्ध स्थापित गर्न प्रदेश नं १ भरिका सबै जिल्लाहरुको दैनिक जिल्ला बिशेष कार्यक्रमहरु संचालन गरिने उल्लेख छ ।
व्यवसायिक नेटवर्क स्थापनामा सहयोग पुग्ने गरि बिजनेश र साधारण प्रवेशको व्यवस्था समेत यस पटक मिलाइने आयोजकको भनाइ छ । एक्स्पोमा ४१५ वटा स्टल रहने छन् । मेलामा भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चिन लगायतका मुलुकबाट समेत कन्जुमर तथा करपोरेट स्टलहरु रहने गरि तयारी अघि बढाइएको उद्योग संगठनका अध्यक्ष सुयष प्याकुरेलले बताए ।
प्रदर्शनी अवधीमा ५० करोड रुपैयाँ भन्दा बढीको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ भने करिब २ करोड ५० लाख रुपैयाँ खर्चहुने र उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्रि, टिकट बिक्रि तथा संघ, प्रदेश र स्थानीय सरकार र अन्य विकास साझेदारहरुसँगको सहकार्यबाट व्यवस्थापन गरिने मेला आयोजक समितिका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
कार्यक्रमको मूख्य प्रायोजकमा खकुरी रम रहेको छ । साथै गोल्ड स्पोन्सरमा म्याजिक फुटवेयर, सिल्भर स्पोन्सरमा बागमति प्लाष्टिक अहिलेसम्म निश्चित भइसकेको र अरु कम्पनीहरु आउने क्रम जारी रहेको आयोजकले जनाइको छ । त्यसैगरी, एक्स्पोलाई परिणाममुखी र अर्थतन्त्रका सबै क्षेत्रहरुले फाइदा लिने अवसर प्रदान गर्ने गरि डिग्री क्याम्पस बिराटनगर, नाडा प्रदेश नं १ र मोरङ एवं नेपाल युवा उद्यमी मञ्च, होटल एशोसिएसन नेपाल लगायतका संघ संस्थाहरुसँग सहकार्य एवं समन्वय गरिएको छ ।


