पछिल्लो तीन महिनालाई स्थानीय सरकारको बिहानी मान्ने हो भने धेरैजसो स्थानीय तहले आशालाग्दो सुरुआत गर्न सकेका छैनन् । खासगरी ज्वलन्त स्थानीय समस्यामा केन्द्रीत भएर तिनको समस्या समाधानका लागि स्थानीय तहले योजना बनाएका छैनन् । त्यसो त उनीहरुले भर्खरै मात्रै नीति कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन थाल्दैछन् । धेरैतिर पास हुनै बाँकी पनि छ । तर, बिहानीले सिंगो दिनको संकेत गर्छ भने झैं यो सुरुआतमा धेरै स्थानीय तहले प्राथमिकता भुलेको देखिन्छ ।
स्थानीय चुनाव स्थानीय एजेण्डामै आधारित हुन्छ, भए । हरेक स्थानीय तहले सडक सुरक्षा, व्यवस्थापनका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । विराटनगर महानगर होस् अथवा अन्य स्थानीय तह नै किन नहोस्, सडक सुरक्षा र व्यवस्थापनको विषयलाई गम्भीरतापूर्वक उठाएका थिए दलहरुले । तर, सुरुआती समयमै सडक व्यवस्थापन र सुरक्षामा हाम्रा स्थानीय सरकार उदासिन देखिएका छन् । यो उदासिनताको अन्त्य जतिसक्दो छिटो हुन जरुरी छ ।
हाम्रा सडक जति साँघुरा भए, उत्तिकै असुरक्षित बन्दै जाँदैछन् । यसर्थ पनि सडक व्यवस्थापनको मुद्दाले प्राथमिकता पाउन एकदमै जरुरी भइसकेको छ । कुनै पनि सडक सुरक्षित हुनलाई यातायातका साधन पार्किङको प्रबन्ध कस्तो छ भन्ने विषयले पनि महत्वपूर्ण अर्थ राख्छ । जथाभावी ढंगले गरिने पार्किङकै कारण सडकमा धेरै दुर्घटना भएका दृष्टान्त धेरै छन् । मुख्य राजमार्गमै जथाभावी पार्किङ गर्ने चलन जताततै छ । विराटनगर सहर लगायतका ठाउँका सडकहरु यो समस्याबाट लामो समयदेखि आक्रान्त छन् । यो समस्या तत्काल समाधानको छाँट पनि देखिन्न । किनभने, यो दशकौंदेखि जारी रहेको समस्या हो तर पार्किङ व्यवस्थित गर्ने काम अहिलेसम्म हुन सकेको छैन । जनप्रतिनिधिले यसबारे तत्कालै अध्ययन गर्ने, योजना बनाउने काममा आफूलाई केन्द्रीत गर्नुपर्छ ।
पार्किङमा जथाभावीको नमुना हेर्न धेरै टाढा जानैपर्दैन, आफू नजिर्कैको बाटो छेउछाउ मात्रै नियाले पुग्छ । तेल बोक्ने ट्याङकरहरु, निर्माण सामग्री डुवानी गर्ने टिपरहरु जथाभावी रुपमा बाटोमै पार्किङ गरेर राखिन्छ । चालकहरुले मनोमानी रुपमा बाटौमै लस्करै गाडी राख्ने गरेका छन् । नेपाल आयल निगमकै विराटनगर कार्यालयको् हालत पनि उस्तै छ । बाटोभरी ट्यांकर पार्किङमा राख्न थालेको धेरै समय भइसकेको छ । अहिले थपिएका साना सवारी साधनहरु इ रिक्सा, टेम्पो लगायत सडकमै पार्किङ हुने धेरैथरी गाडी छन् । सडकको यो अव्यवस्था हटाउन प्रहरीले कुनै पनि चासो नदिनु उदेकलाग्दो छ । स्थानीय सरकार पनि रमिते मात्रै बनेको प्रसंग त झनै आपत्तिजनक छ ।
हाम्रा बाटाहरु यसै पनि साँघुरा छन् । मुख्य राजमार्ग नै पनि ज्यादै साँघुरो भइसकेको छ । पुरानो जमानाको सडकले दैनिक सयौं संख्यामा थपिने यातायातका साधन धान्ने अवस्थाले यसै पनि असुरक्षा बढाइरहेकै छ । त्यसमाथि सडककै किनारमा पार्किङ गर्ने चलनले बाटो झन् खुम्च्याएको छ । बाटो खुम्चिनुको अर्थ त्यहाँ भीड बढ्नु हो । भीड् बढ्दा असुरक्षा स्वतः बढ्छ । यसरी जानाजान सडक असुरक्षित पार्नेै काम निरुत्साहित गर्न सम्बद्ध निकायहरुले बेलैमा सजगता अपनाउनुपर्छ । व्यवस्थित र सुरक्षित सडक अहिलेको मुख्य आवश्यकता हो । यसका लागि स्थानीय सरकारले सबैभन्दा बढी ध्यान दिन जरुरी छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।