विराटनगर । चुनाव जित्नलाई जस्तोसुकै प्रतिबद्धता पनि गर्ने तर चुनाव जितेपछि त्यही वाचा भुल्ने चलन अहिलेका स्थानीय तहका जनप्रतिनिधिले पनि पछ्याएका छन् ।

जनतामाझ गरेका वाचा चुनाव जितेपछि स्थानीय तहका जनप्रतिनिधिहरुले विर्सदै जान थालेका छन । उनीहरुले जनतामाझ गरेका बाचा यतिबेला भने सस्तो लोकप्रियता जस्तो मात्रै देखिन थालेको छ ।

विराटनगरमा मेयर र उपमेयरमा गठबन्धन बनेपछि विराटनगरमा थप संकट आइपर्यो । विराटनगर उपमेयरमा शिल्पा निराला कार्कीलाई चुनावका बेला नै मुद्दा पर्यो । विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निराला कार्कीको उम्मेद्वारी खारेज गर्न माग गर्दै सर्वाेच्चमा अदालतमा नै मुद्दा परेको थियो । गठबन्धनतर्फका उम्मेदवार अरमेन्द्र यादवले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

कोशी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिएको भन्दै यादवले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिल्पाविरुद्धको उजुरीमा प्रमाण नपुगेको भन्दै उम्मेदवारी सदर गरिदिएको थियो ।

उम्मेद्वार विवाद बढ्दै गएपछि कार्कीले मत माग्ने क्रममा सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताइन् । उनले सरकारी गाडी पनि आफुले प्रयोग नगर्ने बताएकी थिइन् । तर, उनले चुनाव जितेर पदभार ग्रहण गरेकै दिन सरकारी सेवा सुविधा प्रयोग गर्न थालिन् । उपप्रमुख कार्की को १ झ ४९४ नम्बरको सरकारी गाढी चढ्छिन् ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले पनि सरकारी गाडी प्रयोग गर्न थालेका छन । कोइरालाले बा. २ झ १३१५ नंम्बरको सरकारी गाढी चढन थालेका हुन् । साढे तिन महिना भने मेयर कोइरालाले निजी गाडी नै प्रयोग गरेका थिए ।

उर्लावारी नगरका मेयर गंगाप्रसाद खरेलले मेयरको लागि बनाइएको गोप्य कोठा भत्काउने भन्दै चुनावी नारा बनाएका थिए । गोप्यकोठा बाट अबैध धन्दा हुने र आफू अबैध धन्दा नगर्ने भन्दै सो कोठा निर्वाचित भएर गएकै भोलीपल्ट भत्काउने बताएका थिए । मेयर खरेलले मेयरको कोठा अगाडि नै नगर प्रहरी राख्ने गरेका छन् ।

बाथरुम गोप्य कोठामै भएकाले गोप्य कोठा नभत्काएको उनले बताए । ‘मैले त्यो कोठा प्रयोग पनि गरेको छैन’ उनले भने ‘कसैलाई अहिलेसम्म गोप्य गर्नुनै परेको छैन, गर्दिनँ पनि ।’