विराटनगर । एक वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा पक्राउ परेका प्रेमी जोडी पुर्पक्षको लागि जेल चलान भएका छन् ।
बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवलाई अपहरण गरेको आरोपमा पक्राउ परेका विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् । पुर्पक्षको लागि जेल चलान भएका रवीन्द्र र अनु प्रेमी–प्रेमिका हुन् ।
मोरङ अदालतका न्यायाधीश दुर्गा प्रसाद ढुंगेललको इजालशले पक्राउ परेका दुवै जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेपछि सोमबार मोरङ कारागार चलान भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
२ साउनमा विराटनगर – १२ रोड शेष चौकबाट अनु र रवीन्द्रले बालिका अपहरण गरेर भारतको दरभंगा पु¥याएका थिए । अपहरण गरेको दुई दिनपछि प्रहरीले दरभंगाबाट उद्धार गरेर ४ साउनमा विराटनगर ल्याएर परिवारलाई जिम्मा लगाएको थियो भने पक्राउ परेका आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
पक्राउ परेका मध्ये बालिका अपहरण गर्ने मुख्य योजनाकार रवीन्द्र रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले बालिका अपहरण गरेर १५ लाख रुपैयाँ फिरौती लिने उद्देश्यले अपहरण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
रवीन्द्र र बालिकाका बुबा दिपेन सानदेखिका साथी हुन् । दिपेन पेसाले इन्जिनियर हुन् । दिपेनकी श्रीमती अध्ययनको लागि काठमाण्डौंमा बसोबास गर्दै आएकी थिइन् ।
‘दीपनको आर्थिक अवस्था मजबुत भएको कारणले रवीन्द्र पैसाको लोभमा परेको देखिएको छ । सम्पत्तिमा आँखा गाडेका रवीन्द्रले आफ्नी प्रेमिका अनुको सहारा लिए । अनु र दीपेशलाई रवीन्द्रले चिनजान पनि गराइदिए,’ मोरङ प्रहरी प्रमुख कोइरालाले भने, ‘यो चिनजान अढाई महिनाअघि मात्रै भएको देखिन्छ ।’
यसबिचमा अनु दीपनसँग ‘प्रेम’ परेको अभिनय गर्न थालिन् । दीपन पनि उनीसँग नजिकिएको देखिएको प्रहरीको भनाइ छ । ‘यो बिचमा उनीहरू धेरै पटक भेटेको, सम्पर्कमा रहिरहेको देखिन्छ,’ कोइरालाले भने ।

