लोड हुँदैछ...

मेनु

दुई वर्षपछि रथयात्राको तयारी

दुई वर्षपछि रथयात्राको तयारी

विराटनगर । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यो वर्ष सञ्चालन गरिने भएको छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको बैठकले रथयात्रा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढेका कारण यसअघि रथयात्रा नगर्ने सहमति भएको थियो । तर, सर्वसाधरणले विरोध गरेपछि निकालिने भएको हो । आयोजक समितिका सदस्य कृष्ण कार्कीले रथयात्रा निकाल्ने निर्णय भएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कोरोना महामारी बढेका कारण यअघि रथयात्रा ननिकाल्ने सहमति भएको थियो । केही दिनयता रथयात्रा हुनुपर्ने भन्दै आवाज उठेपछि सतर्कतासहित यात्रा गर्ने तयारी भएको बताए । विराटनगरको हिमालय रोडमा अवरोध भएका कारण यो वर्ष रथलाई रोडशेष चोकबाट घुमाइनेछ ।विराटनगर तीनपैनी चोकमा रहेको राधाकृष्ण मन्दिर परिसरबाट वि.स. १९८८ सालमा ‘खट’ यात्रा सुरु गरिएको थियो । २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आएको छ । खट यात्रासहित ९१ औं र ५४ औं रथयात्रा भदौ ४ गते हुनेछ ।

कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करणमा भने खटमात्र परिक्रमा गरिएको थियो । रथयात्रा पहिलेको भन्दा कम मात्रामा झाँकी उपस्थित गराएर रथयात्रा निकालिनेछ । व्यवस्थापन समितिले सोमबार मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर रथयात्रा निकाल्ने वातावरण मिलाउन आग्रह गरेको थियो । मुख्यमन्त्रीले रथयात्रा निकाल्न सहयोग गर्ने बताएका थिए ।

यो पटक रथयात्राको रुट पनि बढेको छ । हिमालय रोडमा अवरोध भएका कारण आयोजकले ट्राफिक चौकदेखि रोडशेषबाट कोसी राजमार्ग हुँदै बरगाछीबाट मन्दिर लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।