विराटनगर । मंसिर ४ का लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा झापाको ५ नम्बर क्षेत्र रोचक भीडन्तको थलो बन्दैछ ।
चुनावको मिति घोषणा भएयता दमकका मेयर राम थापाले केही दिनयता एउटा प्रश्नसँग निरन्तर जुध्नु परिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति तोकिएपछि धेरैले उनलाई एउटै प्रश्न तेस्र्याउने गरेका छन् ‘आउँदो चुनावमा कसलाई सहयोग गर्नुहुन्छ ,एमाले कि गठबन्धनलाई ?’

‘अचेल मलाई धेरै जनाले यही प्रश्न गर्नुहुन्छ’, थापाले भने ‘व्यक्तिगत कुरा गर्नुहुन्छ भने म त गठबन्धनसँगै मिलेर अघि जान पाए हुन्थ्यो भन्नेमा छु । तर, पार्टीले निर्णय गरिनसकेका कारण अहिले यसबारे त्यतिधेरै खुलेर बोल्ने अवस्थामा छैन ।’
खुलेर बोल्ने अवस्था नभएको ‘क्लज’ राखेरै भए पनि थापाले आफ्नो इच्छा लुकाएनन् । आफूलाई दमकको मेयर पदमा आसिन तुल्याउन सघाएका दलहरुसँगै मिलेर चुनावमा जान पाए सहज हुने उनको भनाइ थियो ।

मेयर थापालाई धेरैले यही प्रश्न दोहोर्याउनुको कारण उनलाई गठबन्धन दलहरुले मेयरमा सघाउनु त हो नै तर त्यति मात्रै भने होइन । दमकको मेयर बन्ने लामो प्रयासमा आफूलाई सघाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलहरुले मंसिर ४ को निर्वाचनपछि गठबन्धन बनाएरै लड्ने टुंगो गरिसकेका छन् । थापाको दल राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेसम्म एमालेसँग तालमेल गरेर जाने कि सत्ता गठबन्धनसँग भन्नेमा अनिर्णित छ । एमालेसितै मिलेर जाने सम्भावना बढी छ ।

प्रतिनिधिसभाको झापा ५ मा पर्ने दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । पूर्वप्रधानमन्त्री ओली आफ्नै पुरानो क्षेत्रबाट आउँदो निर्वाचन लड्ने तयारीमा छन् । ओलीसँग चुनाव लड्न गठबन्धनबाट काँग्रेस नेताहरु विश्दिप लिङदेन, खगेन्द्र अधिकारी, महिन्द्रा सुब्बा, सुरेश सुब्बा दाबेदार छन् । विश्वदिप तिनै नेता हुन्, जसले २०६४ को संविधानसभा निर्वाचनमा ओलीलाई हराएका थिए । त्यसबेला उनी माओवादीमा थिए । अहिले काँग्रेसमा रहेका उनी महामन्त्री विश्वप्रकाश शर्मा निकट छन् ।

त्यसैगरी माओवादी नेताहरु रन्जित तामाङ, गगन पुरी, सुरेन्द्र बस्नेत लगायतका नेताहरु पनि ओलीसँग चुनावी प्रतिष्पर्धा गर्न इच्छुक देखिएका छन् । अघिल्लो चुनावमा वाम गठबन्धन हुँदासमेत राप्रपाको सहयोग लिएका ओली यतिबेला एक्लिएका छन् । एक्लिएको यो बेला उनले राप्रपा मनाउन झन् धेरै प्रयास गर्नेछन् ।

यदि ओलीको यो प्रयास सफल भयो भने मेयर थापा र स्थानीय चुनावमा पहिलोपटक विजेता अनुभव गरेको दमक क्षेत्रको राप्रपा पंक्ति ‘अनिच्छापूर्वक’ एमालेलाई सघाउने अवस्थामा पुग्नेछ । राप्रपा प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर थापाका अनुसार ‘राप्रपाको स्थानीय पंक्ति पनि अहिलेकै गठबन्धनसित मिलेर चुनावमा जान पाए हुने’ भन्ने पक्षमा छ ।

‘साथीहरुको इच्छा पनि म त्यस्तै बुझ्छु’, थापाले भने ‘तर, पार्टी बैठकबाट निर्णय नआएसम्म ठ्याक्कै यही हो भन्न सकिन्न ।’ एमाले–राप्रपा चुनावी तालमेलको सम्भावना बढ्नुका पछि ओलीको स्वार्थले मात्रै काम गरेको छैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि चुनावी सुरक्षाको ग्यारेन्टी खोजिरहेका छन् । सत्ता गठबन्धनसँग कुरा नमिल्ने बुझेका लिङ्देन पनि एमालेको साथ खोजिरहेका छन्। दुई अध्यक्षको स्वार्थ मिलेकै कारण एमाले र राप्रपा तालमेल बन्ने सम्भावना बढेको हो ।२०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएर काँग्रेस नेता कृृष्णप्रसाद सिटौलालाई हराएका लिङ्देन अहिले पार्टी अध्यक्ष छन् । सत्ता गठबन्धनबाट काँग्रेस नेता कृष्णप्रसाद सिटौला उम्मेद्वार बन्ने निश्चित भएका कारण पनि राप्रपाले अन्ततः एमालेसँगै तालमेल गर्ने सम्भावना बढेको छ ।

राप्रपा भने तालमेलका सबै सम्भावनाबारे आफू खुला रहेको बताइरहेको छ । ‘हामी सबैसित तालमेलका लागि खुला छौं’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने ‘हेर्दै जाऔं के हुन्छ ।’ उनले राप्रपाले क्षेत्र विशेषमा पनि तालमेल गर्न सक्ने सम्भावना रहेको बताए। ‘यदि कुरा मिलेन भने हामी एक्लै भए पनि चुनावमा जानेछौं’, उनले थपे ‘म झापा ३ मै जानेछु ।’एमालेसँग तालमेल भए झापा ५ मा नैतिक दबाब हुँदैन भन्ने प्रश्नमा उनले भने ‘त्यस्तो केही हुँदैन । पार्टी निर्णय जे हुन्छ त्यो कार्यान्वयनमा सबै लाग्नेछौं ।’ अध्यक्ष लिङ्देनले ‘असहज’ नहुने बताइरहेका बेला दमक मेयर थापा भने त्यसो भए ‘सजिलो हुने’ ठहरमा छैनन् ।

अरुबेला ‘समन्वयकारी’ र ‘नरम’ नेताका रुपमा परिचित थापाले स्थानीय चुनावताका ओलीविरुद्ध ‘कडा’ रुपमा ‘फायर खोलेका’ थिए । चुनाव जितेलगत्तै ‘ओलीको अहम् पराजित गरेको’ प्रतिक्रिया दिएका थिए । यदि उनको दलले एमालेलाई सघाएर जाने निर्णय गरेमा एमाले पंक्तिको मुखैमा झुण्डिएको ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन’ भन्ने मदन भण्डारीको भनाइ थापाले पनि सापटी लिनुपर्ने हुनसक्छ । ‘हेरौं न अझै समय छ,’ थापाले भने ‘अहिले नै पछि के होला भन्ने अनुमान नगरौं ।’

सत्ता गठबन्धनका दलहरुका लागि मात्रै होइन झापा ५ मा जित्नका लागि एमालेलाई पनि राप्रपाको साथ अनिवार्य जस्तै देखिन्छ । खासगरी गएको स्थानीय चुनावको अन्तिम नतिजा अनुसार यो सम्भावना देखिन्छ । यद्यपि बढेको मतदाता संख्या, गएको निर्वाचनमा भएको तालमेल र त्यसले अनिश्चित पारेको मतसंख्यामा धेरै तलमाथि नभए स्थानीय चुनावको नतिजाले एउटा चित्र भने देखाउँछ ।

स्थानीय चुनावका बेला सत्ता गठबन्धनका दलहरूले एमालेलाई एक्ल्याएपछि उनीहरुलाई ‘एक–एक किलोका ढक’ भनेर उडाएका ओलीलाई गठबन्धन दलहरूले उनकै निर्वाचन क्षेत्रमा कमजोर सावित गरेका थिए ।झापा ५ मा ओलीको गृहनगर दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमा मात्रै प्रमुख जितेको छ । बाँकी तीन स्थानीय तहमा ‘ओलीविरोधी मोर्चा’ सफल देखिएको थियो ।

ओलीको क्षेत्रका चारवटै स्थानीय तहमा कांग्रेस, माओवादी, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रमुखका उम्मेदवारहरू र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका उम्मेदवारले पाएको कूल मत एमालेभन्दा धेरै बढी थियो । प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च पनि सत्ता गठबन्धनमै सामेल छ । यदि स्थानीय, प्रदेश र संघको गठबन्धनले निरन्तरता पाए ओलीलाई चुनावी यात्रा सहज हुने देखिन्न । झापा–५ का एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७ सय ९८ हो भने एमाले इतरका दलका प्रमुखहरुले पाएको मत ५५ हजार ७८८ हो ।यो क्षेत्रका वडाध्यक्षहरुले पाएको मत अनुसार भने एमाले बलियो देखिन्छ। यहाँका सबै वडाका एमाले अध्यक्षहरुले पाएको कूल मत ४५ हजार ४ सय ९५ छ । काँग्रेसका वडाध्यक्षहरुले २४ हजार ९ सय ७९ मत पाउँदा माओवादीका उम्मेद्वारहरुले पाएको मत १२ हजार ४ सय ४४ छ । गठबन्धनको अर्को दल एकीकृत समाजवादीका वडाध्यक्षहरुले पाएको मत १ हजार ९ सय ९१ छ भने प्रदेशमा गठबन्धनमै रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ हजार ७ सय ५४ मत छ ।

राप्रपाका वडाका उम्मेद्वारहरुले ८ हजार ७ सय ७४ मत पाएको यो क्षेत्रमा सिके राउतको दल जनमत पार्टीले ६७६ मत र स्वतन्त्र उम्मेद्वारहरुले २ हजार ३ सय १७ मत हो । वडाध्यक्षहरुकै मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका दलहरुलाई ओली हराउन राप्रपाको साथ जरुरी पर्नेछ। काँग्रेस, माओवादी, एस लगायतका दलहरुसँग जम्मा ३९ हजार ४ सय १४ मत मात्रै छ । यदि यो गठबन्धनमा राप्रपा थपिने हो भने मात्रै बल्ल एमालेभन्दा बढी मत हुन्छ। त्यसो हुँदा एमालेको विपक्षमा ४९ हजार ९ सय ४२ मत हुन्छ। गठबन्धनमा सामेल जसपाले उम्मेद्वारी नदिएका कारण उसको मतको हिसाब यसमा सामेल छैन ।

यद्यपि राप्रपा र सत्ता गठबन्धनको सहयात्रा कठिन देखिन्छ। यही सम्भावना औंल्याएर एमाले आशावादी देखिएको छ । ‘अध्यक्षज्यूसँग चुनाव लड्न गठबन्धनमा कोही मान्छे नै देखिन्न’, एमाले नेता होम थापाले भने ‘त्यसैले एमालेलाई यहाँ कुनै कठिनाइ छैन ।’

२०७४ मा वाम गठबन्धन हुँदा झापा–३ राप्रपालाई दिएर ओलीले आफ्नो क्षेत्र सुरक्षित पारेका थिए । त्यसबेला ओली ५७ हजार १३९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । ओलीले पाएको मत एमाले, माओवादी र राप्रपाको सगोलको मत थियो । यसपटक त्यो सगोलको मत ओलीलाई नजाने गठबन्धन दलहरुको आशा छ । ‘ओलीले विगतमा गरेका सबै कामहरु जनताले देखे–भोगेका छन्’ काँग्रेस नेता ढुण्डीराज भण्डारी भन्छन् ‘त्यसैले यसपटक पनि पुरानै नतिजा दोहोरिने कुरा अकल्पनीय जस्तै छ ।’