नेपाली राजनीतिलाई बारम्बार तरंगित पार्ने एउटा मुद्दा हो, नागरिकता । नागरिकताका नाममा नेपालमा लामो समयदेखि भोटको राजनीति चल्दै आएको छ । त्यतिमात्रै होइन नागरिकताकै विषयलाई लिएर नेपालमा बारम्बार ‘राष्ट्रवाद’ को मुद्दा उचालिने पनि गरेको छ । पछिल्लो पटक नागरिकता विधेयकले पनि एउटा ठूलै तरंग सिर्जना गरेको छ । एकथरी समूह छ, जसलाई नेपाली नागरिकता संसारकै सबैभन्दा आकर्षक तहको देखाउनु छ । र, त्यही भाष्यको आडमा बारम्बार नागरिकताबारे विवाद झिकेर राजनीतिक रोटी सेकाउनुछ । मुलतः महिलाहरुप्रति ज्यादै अनुदार त्यो तप्का महिलाकै कारण ‘राष्ट्रियता’ धरापमा पर्ने भ्रम छर्न प्रयासरत रहन्छ ।
तर, के नेपालमा नागरिकता लिने विदेशीहरु मात्रै छन् कि स्वदेशकै हकवालाहरु पनि छन् ? जिल्ला प्रशासन कार्यालय मोरङको एउटा अति सामान्य तथ्यांक हेरौं । मोरङमा पछिल्लो समय नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको संख्या बढेको छ । वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको संख्या बढेका कारण नागरिकता परित्याग गर्नेको संख्या बढेको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा आर्थिक वर्ष २०७७÷७८ मा नेपाली नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दिनेको संख्या ७ जना थियो । गत आर्थिक वर्ष २०७८÷७९ मा ११ जनाले नागरिकता परित्याग गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा मात्र पाँच जनाले नेपाली नागरिकता परित्याग गरिसकेका छन् ।
निश्चय नै यो संख्या ज्यादै ठूलो त होइन । तर, नेपाली नागरिकता लिएर राष्ट्रियता नै धरापमा पार्नेहरुले देश बर्बाद पारे भन्ने भ्रम फिँजाउन खोज्नेहरुले यस्ता तथ्यांकहरुबारे विशर्म गर्ने समय छुट्याउलान् ? हरेक मान्छे आफ्नो नियतिसित जुध्न व्यस्त रहन्छ । नेपाल जस्तो मुलुकमा दुई छाक खान र सामान्य आवश्यकता पूरा गर्न नै पनि धेरैका लागि ज्यादै ठूलो पहाड उक्ले सरह हुन्छ । यस्तो अवस्थामा सामान्य नागरिक कसैको राजनीतिक स्वार्थ पूर्तिका लागि कसरी उपयोग हुन्छ ? अझ महिलाका कारण राष्ट्रियतामा खतरा देख्नेहरुले बनाउँदै लगेको भाष्य भनेको पुरुषबाट मात्रै त्यसको सुरक्षा छ भन्नेछ ।
नागरिकता कुनै पनि मुलुकको सुरक्षाका लागि निश्चय नै संवेदनशील विषय हो । तर, यसमा पुरुषका लागि एउटा र महिलाका लागि अर्को व्यवस्था विभेद हो । महिलाप्रति गरिएको अन्याय हो । राज्य स्वयम्ले यसरी नागरिकप्रति विभेद गर्न पाउँदैन, मिल्दैन । त्यसैले नागरिकताको विषयलाई धेरै राजनीतिकरण नगरौं । यहाँ लिन खोज्नेहरु होलान्, त्याग्नेहरु पनि प्रशस्तै छन् । मान्छेको आवश्यकताले निर्धारण गर्ने यो सामान्य प्रक्रियालाई अति राजनीतिकरण गरेर गिजोल्ने प्रयास नगरौं ।

