विराटनगर । केपी ओली नेतृत्वको सरकारले नागरिकता विधेयक अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले राष्ट्रपति विद्या देवी भण्डारी प्रति अक्रोस् पोखेका छन् ।

राष्ट्रपतिले ।नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको समेत उनले आरोप लगाएका छन् । सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए ।

महतोले राष्ट्रपति जनताको कठघरामा उभिनु पर्ने बताए । ‘यसअघि हामी पनि सरकारमा भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको अनुसार संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो ? ’ महतोले भने, ‘त्यही कुरा अध्यादेशमा आउँदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने रुकसरी नैतिक भयो ? ’

संसदबाट पारित विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार भए पनि यसमा विवेक नपुर्‍याइएको महतोले टिप्पणी गरे । ‘सार्वभौम संसदले गरेको निर्णय नमानेर राष्ट्रपतिबाट गम्भीर भूल भएको छ । देश र जनताले प्रश्न गर्न पाउने भए । राष्ट्रपतिले न्याय गर्नुभएन’, महतोले भने । राष्ट्रपति भण्डारीले संसदका दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएकी छिन ।