विराटनगर । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आइतवारदेखि मल बिक्री वितरण सुरु गरेको छ । सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहे पनि उपलब्धताको आधारमा सहकारीमार्फत वितरण कार्य सुरु गरेको कार्यालय प्रमुख नरेशकुमार सापकोटाले बताए ।
कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो । कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, बिर्तामोड र इलाममार्फत मल बिक्री वितरण गर्ने गरेको छ ।
प्रदेश १ मा किसानलाई वार्षिक रूपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक पर्छ ।
कम्पनीले प्रति किलो ५० रुपैयाँमा युरिया ७५०रुपैयाँमा डिएपी दुई हजार दुई सय रुपैयाँमा र पोटास १ हजार ६०० मा बिक्री वितरण गरिरहेको छ ।

