लोड हुँदैछ...

मेनु

पर्यटकको आकर्षणको केन्द्र बन्दै महभीर झरना

पर्यटकको आकर्षणको केन्द्र बन्दै महभीर झरना

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो । गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ ।

विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभीर झरना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।

गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झरना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ ।

झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

पर्यटक झरनासम्मै पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन् । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताए ।

भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको संख्यामा वृद्धि भएको पाइन्छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।

टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन् । पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको संख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।

यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । अञ्चल डाँडाबाट महभीर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।