विराटनगर । जति उमेरका खुड्किलाहरु थपिदै जान्छ, उति नै जिम्मेवारीले काँध गह्रौं हुँदै जान्छ । जिम्मेवारीका चाङहरुसँगै विलिन हुन्छन्, इच्छा र सपनाहरु । तर, बाल्यकाल देखिको इच्छा र सपनाहरु पछ्याएर नथाकेकी खड्गमाया तुम्बाहाङ्फे लिङ्थेपको ८५ वर्षको उमेरमा पनि उर्जा उस्तै छ ।
विराटनगरबाट धरान पुग्दा पहिलो भेटमा नै उनले भनिन्,‘लेख्नु, पढ्नु पनि नसा रहेछ, आज नेलखौं, नपढौं भन्यो मनले मान्दैन ।’ हिँउझैं कपाल, चाउरिएका अनुहारमा नथाकेका सपनाका चाङहरु । आफूले लेखेको पुस्तकका पाना पल्टाउँदै गर्दा उनी बेलाबखत मुस्कुराउथिन । उनको त्यो मुस्कानभित्र सन्तुष्टिका दृश्य देखिन्थ्यो ।
बाल्यकलदेखिको लेखनप्रतिको रुची र सपना साकार बनाउन सफल हुँदा उनी खुसी छन् । ‘मैले त धेरै पढेको छैन’ आफूले लेखेको पुस्तक सुम्सुम्याउदै उनी सुनाउँछिन्, ‘प्राथमिक तहसम्म अध्ययन गरे, त्यो बेला पढेको भुलेर फेरि प्रौढ शिक्षा पढ्न लेख्न सिके ।’बाल्यकाल सम्पन्न परिवारमा सुखको अनुभुतिसँगै हुर्किएको भएपनि ‘छोरीले पढे जात जान्छ’ भन्ने सामाजिक बुझाईले उनको पढाई अगाडि बढ्न सकेन ।
छोरा र छोरीलाई गर्ने विभेदपूर्ण समाज । त्योसँगै जीवनका अनेकन आरोह, अवरोहहरुलाई छिचोल्दै जीवनको ८ दशक वढी लामो यात्रा पार गरेकी खड्गमायाँले इच्छाशक्ति, आत्मबल र आत्मविश्वासलाई डमगाउन दिइनन् । अहिलेसम्म उनले ४ वटा पुस्तक प्रकाशन गरिसकेकी छन् भने तीन वटा पुस्तक प्रकाशनको तयारीमा छन् ।
शिक्षाको ज्योति आमा
तेह्रथुमकोे माझगाँउ धर्मपुरमा भूतपुर्व गभर्नर जनरल स्व.ललितबहादुर तुम्बाहाङफे र आमा स्व. देवका तुम्बाहाङफेको कोखबाट ९ जना दिदिबहीनिमध्ये सातांै सन्तानको रुपमा जन्म लिएकी उनी अनुभव र इच्छाशक्तिले मान्छेलाई सफलताको बाटो देखाउने धारणा राख्छिन् । सामाजिक र धार्मिक कामले घरमा खासै समय नदिने बाबुको छोरी उनीसहित दिदिबहिनीहरुको धेरै आमासँग नै वित्यो ।
समाजका कारण अध्ययनलाई विट मार्न बाध्य भएपनि अध्ययन गर्नुपर्छ भन्ने प्रेरणा आमाले दिनुभएको उनले सुनाइन् । ‘आमा शिक्षित नै हुनुहुन्थ्यो, उहाँ महाभारत, रामायण अध्ययन गर्नुहुन्थ्यो र हामीलाई पनि अध्ययन गर्न प्रेरित गर्नुहुन्थ्यो’ उनी थप्छिन्, ‘हाम्रो लागि शिक्षाको ज्योति नै आमा हो ।’
लुक्दै गीत लेखेको किस्सा
फुर्सद हुँदा उनी पुस्तक अध्ययन गर्ने । रामायण पढ्ने बुबाले घरमा ल्याउनु भएको धार्मिक पुस्तकहरु आमाले पढेर सुनाउने धार्मिक कथा र त्यहि समय लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन पढ्ने अवसर पाएकाले पनि लेख्नमा थप उर्जा मिलेको उनले सुनाइन् । ‘धार्मिक भजन किर्तन सुन्दा मनमा छुट्टै मिठासले जरा गाढेको थियो । त्यही भएर पनि होला, १० वर्षको उमेरदेखि गीत, कथा, कविताहरु लुकीलुकी लेख्ने गर्थे ।’ उनले सुनाइन्, ‘मैले लेखिका, कवियत्री बन्ने ठूलो सपना सझाएकी थिए, विचैमा अध्ययन रोकिएपछि निरास भएर अब देखि कहिल्यै लेख्दिन भनेर मेरा रचनाहरु पानी पधेँरोमा च्यातेर फालिदिए ।’
उनलाई आफूले लेखेका लेख, रचनाहरु पानीमा बग्दै गर्दा पछुतोका भाव उत्पन्न नभएको पनि होइन । आफूले गल्ति गरे जस्तो आभास नभएको पनि होइन । तर, मनका सबै भावनाहरुलाई कसेर त्यो दिनदेखि उनले कलम समाउन नै बन्द गरेकी थिइन् । तर, अध्ययन गर्ने क्रमलाई भने निरन्तरता दिइन् ।
२०५५ साल देखि पुनः लेखनयात्रा
उनले कयौँ सपनाहरुलाई मनभित्र नै दवाएर कहिल्यै त्यो बाटोमा यात्रा नगर्ने प्रण गरेकी थिइन् । तर, मनैदेखि चाहेका कतिपय कुराहरु यसै विलिन हुन मनले मान्दैन । २०३५ सालको कुरालाई उनी स्मरण गर्दै सुनाउछिन्,‘त्यो बेला बहुदल निर्दलको निर्वाचन हुन लागेको थियो, जनताहरु जोसिएका थिए । त्यो दृश्य देखेर मेरा हातहरु पुनः कलम समाएर कापीका पानाहरुमा सलबलाउन थल्यो ।’ लेख्न छोडको धेरै समय भएकाले उनका कतिपय प्रयासहरु खेर पनि गएका थिए । तर, पनि जसोतसो केही कथा, कविता र गीत लेखेको उनले सुनाइन् ।
पढेका मान्छेले के गर्न सकिएला भन्ने मनका प्रश्नहरुले गाँजिरहेको बेला उनले २०५५ सालमा आफू जस्तै कम पढाइ भएकाहरुले लेख, कथा लेखेको देखेर उनलाई आफ्ना विचारहरु लेख्न नपढेकाले पनि सक्ने रहेछ भन्ने विचार आएसँगै उनले लेखन यात्रालाई निरन्तरता दिएकी थिइन् । उनकोे यो अवधीसम्ममा सावरमती (कथा संग्रह), पुर्खाका कृतिहरु (कथा संग्रह), वैशाली (कथा संग्रह) र नरमाया पागल भई (कथा संग्रह) लगायतका कृतिहरु प्रकाशित भइसकेको छ ।
मनका भावहरु लेखमार्फत व्यक्त
लेखकहरुले आफैले भोगेका कतिपय भोगाइहरुलाई लेखमार्फत व्यक्त गर्छन् भन्ने भनाइहरु छन् । खड्गमाया पनि आफ्ना मनका भावनाहरुलाई कथामार्फत व्यक्त गर्ने गरेको उत्तमकुमार लिङ्थेप (खडगमायाका छोरा) बताउछन् । चार छोरामध्ये उत्तमकुमारसँग धरानमा बस्दै आएकी उनी मनका कुराहरु आफ्नो लेख रचनामार्फत पोख्ने गर्छिन् । ‘वैशाली(कथा संग्रह) को १५ नम्बरमा ‘चार सन्तान चारथरीका’ भन्ने शिर्षकमा छ, त्यो हामी सन्तानहरुबाट चित्त नबुझेको सत्य कथा हो’ छोरा उत्तरले सुनाए ।
प्राथमिक तहको अध्ययन गरेर लेख रचनाहरु दैनिक जस्तो लेख्नु र पढ्नसक्नु भनेको इच्छा, चाहाना र लगनशिलताले नै हो । त्यसो त उनको यो लेखन यात्रालाई परिवारको साथै बहिनी डा. शिवमाया तुम्बहाङफेको पनि बलियो साथ रहेको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।