विराटनगर । सुनसरीकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जना करातेका प्रशिक्षकको प्रहरीले पोलिग्राफ जाँच गरेको छ ।
कलेजमा अध्ययनरत १९ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ जाँच गरेको हो ।
किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो । दुवै राष्ट्रिय खेलकुद परिषद्का मोरङका कराते प्रशिक्षक हुन् । २०५२ सालमा करारमा प्रशिक्षक नियुक्त गरिएका दुबै जनाले २०६१ सालदेखि स्थायी प्रशिक्षकको नियुक्ति पाएका थिए ।पक्राउ परेकाहरुले प्रहरीसमक्ष इन्कारी बयान दिएपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलिग्राफ जाँच गरेको हो । पोलिग्राफ जाँचको रिपोर्ट पोजेटिभ आएको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका क्रममा आरोपीको पोलीग्राफ जाँच गरिहेको बताएका छन् ।
अपराध अनुसन्धानमा पोलिग्राफ जाँचलाई अदालतले प्रमाणको रुपमा ग्रहण गर्दैन् । सर्वाेच्च अदालतले पोलिग्राफ जाँच प्रतिवेदनले मुद्दामा कसुर ठहर गर्न उपयोगी हुने प्रमाणको स्थान ग्रहण गर्न नसक्ने नजिर स्थापित गरेको थियो । प्रहरीले भने अनुसन्धानका क्रममा पोलिग्राफ जाँच गरेको बताएको छ ।
सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीय किशोरीलाई सोही कलेजको अनुशासन विभागको प्रमुख सुवेदीले पटक–पटक करणी गरेको आरोप छ । प्रहरीका अनुसार विराटनगरको खारजीमा कोठा भाडा लिएर बस्दै आएकी युवतीलाई डेरामा र होटलमा लगेर बलात्कार गरेको अनसन्धानबाट देखिएको छ ।
गत जेठ अन्तिम साता विराटनगरको एक होटलमा सुवेदीले राउतलाई बोलाएर सामूहिक करणी गरेका थिए । पीडितले करणीको भिडियो बनाएर आफूलाई ब्लाकमेलिङ गरेको पनि बताएकी छन् । तर, प्रहरीले मोबाइलमा भिडियो फेला नपरेको बताएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।