विराटनगर । कोसी कोभिड–अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाटनै भागेका हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार प्रतिवादीको खोजी भइरहेको बताए ।