विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिकालाई बन्धक बनाएर जवरजस्ती करणाी गर्ने प्रतिवादीका आफन्तले पीडितलाई बयान फेर्न दवाब दिएको खुलेको छ ।
बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पुर्पक्षको लागि थुनामा गएका ग्रामथान गाउँपालिका ७ का १९ वर्षीय आदित्य खाँ थारूका आफन्तले पीडित बालिका र उनका अभिभावकलाई दवाब दिएर ‘बकपत्र’ मा बोलाएको दिन बयान फेर्न दबाव दिने गरेको पाइएको हो ।
गत वैशाख २९ गते ग्रामथान गाउँपालिका ७ तेतरियामा लागेको मेला जाने क्रममा राती ७ बजे थारुले ती बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत मोरङ अदालतमा ‘जवरजस्ती करणी’ मुद्दा दर्ता गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतका न्यायाधीश भरत लम्सालको बाल इजलासले थारूलाई १० साउनमा पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
पुर्पक्षको लागि अभियुक्त थुनामा गएपछि पीडकका आफन्तले अहिले पीडितको घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फर्न दवाब दिने गरेका छन् । ‘बलात्कार आरोपमा पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले दैनिकजसो फोन र घरमा आएर विभिन्न प्रलोभन देखाएर बयान फेर्न दवाब दिने गरेका छन् । कहिले केटाको बावु आउँछन् त कहिले आफन्तमार्फत खबर पठाएर प्रलोभन देखाउने गरेका छन्,’ पीडित बालिकाका एक जना आफन्तले भने, ‘आइतबार घरमा आएर अदालतमा हुने बकपत्रको बेला जवरजस्ती करणी गरेको होइन भनिदिनु ७ लाख रूपैयाँ दिन्छु भन्दै हामीलाई लोभ देखाउँदै आउने गरेका छन् । भनेको नमाने ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् ।’
प्रहरीमा उजुरी दिएर पक्राउ परेका अभियुक्त थुनामा गएपछि अहिले आफूले नचिनेको व्यक्तिहरू घर आउने गरेको ती पीडित बालिकाले बताइन् । ‘अहिले आफु असुरक्षित महसुस गर्न थालेको छु । नचिने व्यक्तिहरू घरमा आउने गरेका छन् । बयान फेर्नु भन्दै धम्की पनि दिन्छन् । नभए ठिक हँुदैन भनेर केही दिन अगाडि मोटसाइकलमा आएका ४/५ जनाको समूहले धम्की दिएर गए,’ ती पीडितले बालिकाले भनिन्, ‘यसरी नचिनेका मान्छे घरमा आउँदा आफुले असुरक्षित महसुस गरेको छु ।’
आर्थिक अवस्था विपन्न रहेको पीडित परिवारलाई पीडकका आफन्तहरूले विभिन्न माध्यमहरूबाट अहिले दवाब दिने गरेका छन् । ‘प्रतिवादीका बावुले पटक पटक फोन गर्ने गरेका थिए । जे हुनु भइगयो । अब मिलेर अगाडि बढौं भन्दै फोन गर्ने गरेका थिए । त्यसपछि हामीले फोन उठाउन छोडेपछि विभिन्न मान्छेहरूबाट पीडितका बावु, आमा, मामा र माइजुहरूलाई फोन गरेर कहिले विराटनगरमा भेटौं भन्छन् । कहिले घरमा पनि आइपुग्ने गरेका छन्,’ पीडितका आफन्तले भने, ‘पीडक पक्षबाट धेरै दबाव आएपछि हामीले प्रहरीमा पनि खबर गरेका छौं । अहिले पनि नचिनेका व्यक्तिहरू घर आउन भने छोडेका छैनन् ।’
जवरजस्ती करणी मुद्दामा फैसला हुनुभन्दा अगाडि पीडित, साक्षीहरूको बकपत्र हुने गर्दछ । ‘अदालतको आदेशमा पनि कानूनको द्धन्द्धमा परेका बालक चुक्ता भइसकेको र प्रस्तुत मुद्दामा निरन्तर सुनवाइ हुने भएकोले यथाशीघ्र जाहेरवाला, पीडितलगायतका वादी र नेपाल सरकारका साक्षी जिल्ला सरकारी वकिलकको कार्यालय मोरङमार्फत तथा कानुनको द्धन्द्धमा परेका बालकको साक्षी निजैमार्फत झिकाइ, उपस्थिती र बकपत्रका लागि नियमानुसार पेश गर्नु,’ मोरङ अदालतले गरेको आदेश पर्चामा उल्लेख छ । आदेशमा यथाशीघ्र बकपत्र गराउनुपर्ने उल्लेख गरेकोले पीडितलाई अदालतमा झिकाएर बकपत्रको तयारी गरिएको छ । त्यही भएर पीडकका आफन्तले बयान फर्न दवाब दिने गरेको पीडितका आफन्त बताउँछन् ।
मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाले जघन्य प्रकृतिको अपराधको घटनामा बयान फेर्न पीडितलाई दबाव दिन नमिल्ने भएकोले प्रहरीमा उजुरी दिए कारवाहीको दायरामा ल्याउने बताए । ‘गम्भीर प्रकृतिको अपराधामा यसरी दवाब दिन मिल्दैन,’ उनले भने, ‘पीडितको तर्फबाट कसैले उजुरी दिए प्रहरीले कारावहीको प्रक्रिया अगाडि बढाउनेछ ।’

