विराटनगर । मोरङको सलकपुर सब डिभिजन वन भित्र कार्यालय प्रमुखसहित वन कमान्डरको मिलेमतोमा हुने गरेको अनियमितताको विरोध गर्दा सशस्त्र वन रक्षक प्रेम विष्टको सरुवा भएको छ ।
सलकपुर वन सब डिभिजन मातहत भित्र रहेको सामुदायिक वन भित्र अनुमति पाएको भन्दा हजारौँ क्यु फिट काठ वनका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा बढी कटान गरेको काठको भिडियो बनाएर विष्टले अनियमितताको विरोध गर्दा उनको मधेस प्रदेशमा रहेको सर्लाहीको शम्भुनाथ वन कार्यालयमा सरुवा भएको हो ।
विष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी वन भित्र भएको अनियमितताको घटना सार्वजनिक हुने डरले सुनियोजित तरिकाले आफ्नो सरुवा मधेस प्रदेशमा गरेको उनले बताए । वन कमान्डर कुमारबहादुर बस्नेतको मुख्य योजनामा सामुदायिक वन भित्र अनुमति पाएको भन्दा बढी काठ कटान गरी उपभोक्ता समितिसँग मिलेमतोमा व्यापक रूपमा घोटाला गरेको विष्टले आरोप लगाए । वन कमान्डर बस्नेत अवकाशप्राप्त पूर्व नेपाली सेना हुन् । उनी २०७१ सालको मंसिरदेखि करारमा वन कार्यालयमा सशस्त्र वन रक्षकका रूपमा कार्यरत रहेका छन् ।
सलकपुर सब डिभिजनमा भएको काठ अनियमितताको छानबिन गर्न २०७८ माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिन सुरु गरेपछि वन भित्र भएको घोटालाको विषयमा सबै बोलिदिने र दसी प्रमाणहरू दिने भएकोले मेरो अनयन्त्र सरुवा गरेको उनले बताए ।
सलकपुर सब डिभिजन वनमा सम्झौताभन्दा हजारौँ क्यु फिट बढी काठ कटान गरिएकोले अहिले अख्तियारले अनुसन्धान सुरु गरेको हो । वनमा भएको अनियमितताको विरोध गर्दा वन कार्यालयका प्रमुखदेखि कर्मचारीले सेटिङ्गमा सरुवा गरेको उनको भनाई छ । विष्ट ३३ वर्षदेखि सर्पको संरक्षण गर्दै आएका छन् । उनले पाँच हजार भन्दा बढी सर्पको उद्धार गरेका छन् ।

