विराटनगर । २८ औँ अन्तर्राष्ट्रिय (विश्व)आदिवासी दिवस आज मनाइँदै छ । प्रत्येक वर्ष अगस्त ९ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको १९९४ डिसेम्बर २३ मा भएको साधारण सभाले विश्व आदिवासी दिवस मनाउने निर्णय लिएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि सन् १९९४ देखि २००४ सम्म आदिवासी दशकसमेत मनाएको थियो ।
यस दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुईवटा कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।
‘परम्परागत ज्ञान र सीपहरूको सम्वर्द्धन र हस्तान्तरणका लागि आदिवासी महिलाहरूको भूमिका’ भन्ने नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै छ । विश्वको कूल जनसङ्ख्याको पाँच प्रतिशत आदिवासीहरू छन् । विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् ।
पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन् । संयुक्त राष्ट्रसङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणापत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नो संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।
विभिन्न अध्यनहरुले शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुविधाहरूमा आदिवासी र गैर आदिवासी समुदायबीच ठूलो असमानता देखाउँछ । आदिवासी समुदायको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा उनीहरुलाई ल्याउनु दिवसको मूल उदेश्य हो ।
बहुजाति, बहुधर्म र बहुसंस्कृतिले भरिपूर्ण हाम्रो मुलुक नेपालको अधिकांश भूभागमा आदिवासी समुदायको बसोबास छ । दिवसका माध्यमबाट यो समुदायको पहिचान, रीति, सभ्यता अनि मौलिकतालाई जीवित राख्न भरमग्दुर कोसिस गर्ने गरिन्छ ।
आदिले धेरै पुरानो अर्थात ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । वासी भने बासिन्दा हो । आदिवासी भन्नाले धेरै पहिलेदेखि बसोबास गरिरहेको पुरानो समुदाय भन्ने बुझिन्छ । यो समुदायको थुप्रै मौलिक पहिचान छन् ।
नेपालका आदिवासी जनजाति सम्वद्ध सङ्घ संस्थाले २८औँ विश्व आदिवासी दिवस संयुक्तरुपमा एक हप्तासम्म मनाउने घोषणा गरेर कार्यक्रमहरु गर्न थालेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा विभिन्न कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाउन सुरु गरिएको हो ।
यसका लागि विश्व आदिवासी दिवस–२०२२ मूल समारोह समिति नै बनाइएको छ । महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले लामो समयसम्मको आन्दोलनका क्रममा पनि अधिकार सुनिश्चित हुन नसकेको भन्दै उत्सवको रुपमा मनाइने कार्यक्रममार्फत पनि अधिकार सुनिश्चिततका लागि राज्यलाई दबाब पुग्ने बताए ।
‘हामी आदिवासी जनजाति समुदाय लामो समयदेखि आन्दोलनमा छौँ । तर, हाम्रो अधिकार सुनश्चित भएको छैन । त्यसैले हामीले मनाउने उत्सवहरुमार्फत पनि हामी हाम्रो मागहरु राज्यलाई सुनाउन चाहन्छौँ, देखाउन चाहन्छौँ,’ उनले भने । महासङ्घले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथि बनाएर आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम गर्दैछ ।
दिवसको अवसरमा महासङ्घका सम्बन्धन प्राप्त संस्था र आदिवासी जनजातिसँग सम्बद्ध विभिन्न संस्थाहरुको अगुवाइमा विविध कार्यक्रम भइरहेका छन् ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।