विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको ‘कानेपोखरी संरक्षण’को नाममा मान्छेको कानको स्तम्भ बनाएपछि उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
संघीय सरकारका तत्कालिन पर्यटनमन्त्री भानुभक्त ढकालको पहलमा कानेपोखरी संरक्षणका लागि सशर्त अनुदानमार्फत आएको रकमबाट कान निर्माण भएको हो ।
कान निर्माणको लागि आर्थिक वर्ष २०७७/७८ को अन्तिम चौमासिकमा निकासा भएको ५० लाख रकमबाट पोखरीको प्रवेशद्वार, शौचालय, प्रतीक्षालय, ट्र्याक ओपन, गिट्टी बिछ्याउने, कान र हरिणको प्रतिमा, ह्युमपाइप जडान लगायतको काम भएको कानेपोखरी गाउँपालिकाले जनाएको छ । यद्यपि सामाजिक सञ्जालमा भने कान बनाएको विषयमा आलोचना तीब्र बनिरहेको छ ।
पूर्वसचिव भीम उपाध्यायले ४१ लाखमा बनेको कानको स्तम्भ भन्दै फेसबुकमा पोष्ट गरेपछि यसको आलोचना अझै तीब्र बनेको थियो । गाउँपालिकाले भने सामाजिक सञ्जालमा आएजस्तो कान बनाउनकै लागि ४१ लाख रुपैयाँ खर्च नभएको जनाएको छ ।
गाउँपालिकाको अध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, लेखा अधिकृत अजित भट्टराईले विवरण सार्वजनिक गर्दै कान बनाउँदा ५ लाख रुपैयाँ खर्च भएको जनाएका छन् । त्यस्तै दुईवटा हरिणको प्रतिमा बनाउन ५ लाख नै खर्च भएको जनाइएको छ ।
महालेखा परीक्षक कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनमा कानेपोखरी संरक्षणको नाममा बनाइएको संरचना एक वर्ष नपुगी भत्किन थालेको भन्दै प्रश्न उठाएको छ । ‘कानेपोखरी गाउँपालिका सार्वजनिक खरिद नियमावली, २०७७को नियम १०७ (१३) अनुसार निर्माण कार्यको रेखदेख तथामर्मत सम्भारको जिम्मेवारी उपभोक्ता समितिलाई नै हस्तान्तरण गरिने तथा सोका लागि न्यूनतम ५ प्रतिशत रकम कट्टा गरी पालिकामा राख्न सकिने व्यवस्था भएकोमा स्थलगत अनुगमन गर्दा निर्माण भएको ट्रस्टको पेटी एक वर्ष पनि नपुगी भत्किएको देखियो । पालिकाले मर्मतको लागि उपभोक्ता समितिलाई जिम्मेवार बनाउनुपर्ने, मर्मत सम्भार कट्टी गरेर नियमावलीले तोकिएको अवधिसम्म राख्नुपर्ने तथा कामको गुणस्तरलाई ध्यानदिनुपर्ने देखिन्छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच कानेपोखरीका आदिवासी धिमाल समुदायको संस्कृतिसँग जोडिएर कानेपोखरी नाम रहेको भएपनि पुरुष मानिसको कान बनाएर संस्कृतिको खिल्ली उडाएको धिमाल समुदायले बताएका छन् । किंबदन्ती अनुसार काने देवता, काने महाराज, काने गोठालो या कानको गहना दिने बूढी मानिस तथा कानको आकारको पोखरी भएकोले कानेपोखरी नाम रहन गएको हो । तर, उक्त क्षेत्रमा मानिसको कान बनाएर उक्त ऐतिहासिकतालाई तोडमोड गरिएको कानेपोखरीका अगुवा प्रकाश धिमाल बताउँछन् ।
‘मानिसको कानसँग यो पोखरीमा के सम्बन्ध छ ? कानले के सन्देश दिन्छ ? कान बनाएर पैसा किन खेर फालियो ?’ उनी भन्छन्, ‘पोखरीको संरक्षण गर्नुपर्छ । तर, पैसा सक्न जथाभावी गर्नुभएन, इतिहास मेटिने कार्य घोर भत्र्सना गर्दछौं ।’
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।