लोड हुँदैछ...

मेनु

केशलिया कोरिडोर १४ अर्बमा निर्माण हुने

केशलिया कोरिडोर १४ अर्बमा निर्माण हुने

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै विराटनगरको केशलिया खोलामा व्युटिफिकेसनसहित कोरिडोर निर्माण कार्यको सुरुवात हुने भएको छ ।

सोमबार विराटनगरमा आयोजित बुढी तथा केशलिया खोला कोरिडोर तथा संरक्षण योजनाका सन्दर्भमा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिए ।

खोला क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा.महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तर्गत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् ।

करिडोर निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदनमा खोला नियन्त्रणसँगै बस्ती विकास, सहरी वन विकास र कृषिक्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे औंल्याइएको छ । विभिन्न पालिकालाई जोडेर संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउन सकिने परियोजनाको लागत १४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । केशलिया नदीमा दायाँबायाँ बाँध बाँधेर करिडोरको रुपमा विकास गर्न सके त्यसले विराटनगरसहित दुहबी, बुढीगंगा र विराटनगरमा बाढी नियन्त्रण गर्नुका साथै विविध वातावरणीय फाइदासमेत पुग्ने जनाइएको छ ।

केशलिया करिडोरअन्तर्गत २० वर्षदेखि १ सय वर्षसम्मको बाढी नियन्त्रणको योजना बनाइएको विज्ञ प्रशान्त मल्लले जानकारी दिएका छन् । यस क्रममा सहरका भित्री सडक निर्माण, स्तरोन्नतिदेखि पुलपुलेसा तथा कल्भर्ट निर्माणका कामसमेत समेटिएका छन् । नयाँ बस्ती निर्माणदेखि सहरी वनको विकाससमेत यसमा समेटिएको मल्लले बताए ।

कार्यक्रमका प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्न गर्न प्रदेश सरकार लागिपर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालनी गर्ने बताइएको भएपनि अस्थिरताका कारण सुरु हुन नसकेको उनको भनाइ छ । व्यवस्थित बसोबास, बाढी नियन्त्रण र कृषिक्षेत्रको विकासका लागि पनि करिडोर महत्वपूर्ण हुने प्रदेश सरकारको बुझाई रहेको उनले बताए ।

खोलाबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै खोला शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बताए । वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुनेगरी केशलिया कोरिडोर निर्माण गरिने उनको भनाइ छ । केशलिया खोलालाई सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्री कार्कीको दावी छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । आर्थिक वर्ष २०७९–८० को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत संघीय तथा प्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो ।

केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका र बर्जू गाउँपालिकाको सीमा क्षेत्र भएर बहने खोला हो । खोलाको दुबै किनारमा कोरिडोर निर्माण गरी र बस्तीलाई संरक्षण गर्ने योजना छ । यसले विपद्बाट नागरिकलाई सुरक्षित बनाउन पनि सहयोग गर्ने बताइएको छ ।

व्युटिफिकेशनसहितको कोरिडोर निर्माणको योजना दुई महिनाभित्रै तयार भएको हो । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै व्युटिफिकेशनले पर्यापर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।