लोड हुँदैछ...

मेनु

प्रदेश १ नामकरण: दलहरुबीच संवादहीनताले रोकियो संसद्

प्रदेश १ नामकरण:  दलहरुबीच संवादहीनताले रोकियो संसद्

विराटनगर । प्रदेश नामकरणका लागि दलहरुबीच संवादहीनताको अवस्था लम्बिएपछि प्रदेशसभा फेरि अनिश्चितकालीन स्थगनमा गएको छ ।

प्रदेशको नामकरणका लागि दलहरुबीच सम्वाद अघि नबढेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् । आइतबारको प्रदेशसभा बैठकपछि सभामुख भण्डारीले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रदेश १ को दशौं तथा अन्तिम अधिवेशनबाट प्रदेशको नाम राख्ने बताइरहेका दलहरुबीचको संवाद साउन ६ यता रोकिएको छ । नामका लागि दलहरु आ–आफ्नै अडानमा रहेका कारण संवाद रोकिएको हो ।नामकरणका लागि दलहरुबीच गम्भीर छलफल नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गते सर्वदलीय बैठक राखेका थिए । तीन घण्टा चलेको बैठकमा दलहरुले आ–आफ्नो अडान प्रस्तुत गरे । सहमतिका लागि लगत्तै बैठक बस्ने बताएका दलहरुबीच पछिल्लो समय संवाद भएको छैन ।

सभामुखले बोलाएको त्यो सर्वदलीय बैठकपछि दलहरु सबैजसो आशावादी देखिएका थिए । दलहरुले आ–आफ्नो अडानमा पुर्नविचार गर्न सकिने संकेत गरेपछि नेताहरु आशावादी बनेका थिए ।

मुख्य विपक्षी एमाले पनि कोशीबाट पछि हट्ने संकेत बुझेसँगै प्रदेशका नेताहरु नामकरणबारे आशावादी देखिएका थिए । ‘सभामुखले आयोजना गरेको सर्वदलीय बैठकपछि हामी सबै आशावादी छौं’, बैठकमा सहभागी नेताहरुले अनौपचारिक कुराकानी क्रममा भनेका थिए ‘सबैले एक स्टेप ब्याक हुने कुरा गरेपछि आशा बढेको हो ।’

सत्तारुढ दलका नेताहरुको पहिचानको पक्षमा अडान राखेपछि एमाले नेताहरु हिक्मत कार्की र जीवन घिमिरेले एमाले लचक हुन तयार रहेको बताएका थिए । ‘कोशी एमालेको आधिकारिक निर्णयको नाम होइन’, बैठकपछि एमाले नेताहरुले भनेका थिए ‘यदि सत्तारुढ शक्तिहरु लचक हुन तयार छन् भने हामी पनि तयार छौं भन्ने संकेत हामीले दिएका छौं ।’
यसरी एमालेले कोशीको विकल्पबारे आफू लचक हुन सक्ने संकेत दिएपछि नेताहरु सकारात्मक दिशातिर अवस्था अघि बढेको बताइरहेका थिए । तर, त्यसयता भने दलहरुबीच कुनै छलफल र संवाद नै भएको छैन ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो दलहरु आफ्नै व्यस्ततामा रहेका कारण छलफल हुन नसकेको बताउँछन् ।नामका विषयमा दलहरु अडानमा रहेका कारण छलफल अघि नबढेको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘सल्लाह गरेर हामी बैठक बस्छौं,’ उनले भने,‘अब प्रकृयामा लैजानुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छ ।’

नेकपा एमाले भने सत्ता पक्षले नामको विषयमा छलफल गर्न नचाहेको बताउँछ । एमाले नेता जीवन घिमिरे नेपाली कांग्रेसले बैठक बोलाउने सहमति भएपनि बैठक नबोलाएको बताए । ‘सभामुखले बोलाएको सर्वदलीय बैठकपछि नेपाली कांग्रेसले बैठक बोलाउने सहमति थियो,’ उनले भने,‘ तर आजसम्म कांग्रेसले खबर गरेको छैन ।’ प्रदेशको नामकरणका लागि सत्ता पक्ष जिम्मेवार नभएको उनको भनाइ छ ।

प्रदेश १ मा पहिचान कि भूगोललाई आधार बनाएर नामकरण गर्ने भन्ने विषयमा दलहरुबीच विवाद छ । नेकपा एमालेले कोसी प्रदेश नाम प्रस्ताव गरेको छ । कांग्रेसले सप्तकोसी नाम राख्नका लागि प्रस्ताव गरेको छ । दुवै दलभित्र पहिचानको पक्षमा केही सांसद छन् । दुवै दलले प्रस्ताव गरेको नाम एउटै नदीको हो ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहित राप्रपा बाहेकका साना दल बहुपहिचानको पक्षमा छन् । माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले प्रदेशको नाम कोसी किरातमा सहमति खोज्ने निर्णय गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा एमाले सांसद ३९ (सभामुखसहित) जना छन् । नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना छन् । प्रदेशमा दुई तिहाइ संख्या पु¥याउन ६२ जना आवश्यक पर्छ । ठूला चारमध्ये कम्तीमा तीन वटा दल एकातिर नभएसम्म यो संख्या पुग्ने सम्भावना हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।