धरान् । ‘देश नेता, कर्मचारी र ठेकेदारले बनाइदिन्छ भन्नु नै जनताको ठूलो भूल हो । देश बनाउने नै हो भने जनता आफै मैदानमा उत्रनु र पसिना बगाउनुको विकल्प छैन ।’–यो सन्देश धरान उपमहानगरपालिकका मेयर हर्कराज राई (साम्पाङ)को हो । उनले यो सन्देश मात्र दिएका छैनन्, मेयरको कुर्सीमा बसेदेखि नै जनतासँगै धरानका पाखाभित्तामा श्रमदान गरिरहेका छन् । प्रत्येक शनिवार उनी धरानेलाई पानी खुवाउनका लागि साना खोलाहरुको पानी संकलनका लागि श्रमदान तथा उजाड पाखाभित्तामा बोटविरुवा रोप्न जानछन् । उनलाई सयौंले साथ पनि दिइरहेका छन् ।सरकारी योजना हुँदा करिब ६० लाख खर्च हुने पकुवा खोलामा श्रमदान गरेर त्यहाँ बग्ने पानी खानेपानीको रिर्जव ट्याङ्कीमा जोडिएको छ । त्यस्तै निशाने खोलाको पानी संकलनका लागि काम भइरहेको छ ।
यो शनिबार सर्दु जलधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । उनी शनिबार सार्वजनिक आव्हान गरेर श्रमदान गर्न निस्कन्छन् ।
मेयर साम्पाङले नेपालमा श्रम सँस्कृतिको शुरुवात गरेको भन्दै यो शनिबार भोजपुरका प्रतिनीधि सभा सदस्य सुदन किराती साम्पाङको अभियानमा सहभागी भए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका किरती बिहान सर्दु खोला क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रममा सहभागी भएका हुन् । साम्पाङले धरानमा चलाएको श्रमदान अभियानको प्रशंसा गदैं किरातीले सबै जनप्रतिनिधिहरुले धरानबाट सिक्न आह्वान गरे । मेयर साम्पाङसँगको भेटका क्रममा उनले परिपक्क नेतृत्व गर्न महत्वपूर्ण सुझाव पनि दिए ।
किराती पनि जनतासँग निरन्तर सम्पर्क रहने उनीहरुसँगै काम गर्ने प्रवृत्तिका भएकोले अभियानमा एक्यबद्धता जनाउन आएका हुन् । उनी भोजपुरका गाउँघरमा पुगेर किसानहरुसँगै हलो कोदालो गर्ने, खेती उठाउन र लगाउन सघाउने गर्दै आएका छन् ।
‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृह जिल्लामा नागरिकसँग संवाद गर्दै र उनीहरुको खेत–बारीमा श्रमसमेत गर्दै आएका किरातीले भने ‘पहिले यस्तो श्रम माओवादीहरुले गर्ने गर्थे, तर अहिले अरुको संगतले बिग्रियौं । यही संस्कारबाट माओवादी हुर्किएको हो ।’ मेयर साम्पाङले श्रम संस्कृतिलाई स्थापित गर्न अभियान चलाउनु राम्रो भएको भन्दै उनले प्रशंसा गरे ।
आफ्नो अभियानमा सांसद किराती सहभागी भएकोमा साङ्पाङले खुशी व्यक्त गरे । उनले माओवादी अध्यक्ष प्रचण्डलाईसमेत अभियानमा सरिक हुन किराती मार्फत पुनःअनुरोध गरे ।श्रमदान कार्यक्रममा धरानका सामाजिक संघ संस्था, सहकारी आदिले विभिन्न समूह बनाएर साप्ताहिक रुपमा सहभागिता जनाउँदै आएको छ ।

