दमक । नगरको विकासको लागि विभिन्न योजना र रकम माग गर्न संघीय राजधानी काठमाडौमा रहेको दमक नगरपालीकाका प्रमुख, उप प्रमुखको सहितको टोलीले नगरको विकासको लागि विभिन्न योजनाको स्रोत शुनिश्चितता गरेको छ ।
नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राईसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँडसहितलाई भेटेर दमकको विकासका लागि विभिन्न योजनामा रकम शुनिश्चितता गरेको हो ।
आफूहरूसँगको भेटमा अर्थमन्त्री शर्माले दमक बहुमुखी क्याम्पस, हिमालय माध्यमिक विद्यालय, र ढुकुरपानी माध्यमिक विद्यालयको पूर्वाधार विकासका लागी २१ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको नगर उप–प्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो । दमकको विकासका लागि यस अघि सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै थप रकम प्रदान गर्न अर्थमन्त्री सहमत भएको उनले बताउनु भयो ।
त्यसैगरी विश्व बैंकको लगानीमा शहरी विकास मन्त्रालयद्वारा पूर्वाधार विकासको कार्यक्रम समेत स्वीकृत भएको छ । दमकका पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठको घरदेखि पश्चिमतर्फ संगम चौक हुँदै ताराबारी डिपुचोक जाने करिब ६ किलो मीटरको बाटो विश्वबैंकको लगानीमा बन्ने भएको छ । उक्त बाटो ५० फुट चौडाईको हुने छ भने त्यसका निम्ति बीच–बीचमा चाहिने पुल तथा कल्भट, सडक बत्ती साथै दुवैतर्फ साईकलको लेन समेत निर्माणका हुनेछ । जसका लागि विश्वबैंकले ५८ करोड रुपैयाँ लगानी गर्ने स्वीकृत भएको छ ।