लोड हुँदैछ...

मेनु

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्कियो

सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्कियो

विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ बाट सप्तकोशी नदी पुरानै धारमा फर्किंदा उदयपुर, सप्तरी र सुनसरीका ५ वटा पालिका जोखिममा परेका छन्।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार कोशीको बहाव २०४५ सालपछि पूर्व सरेकोमा अहिले पुरानै स्थानमा फर्किएको छ ।

सम्भावित क्षतिको पूर्वसंकेत आएपछि नगरपालिकाले स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध बाँध्ने काम गरेको भएपनि सफल नभएको कार्कीले बताए । बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रेको लाहुरेकोट भन्ने स्थानबाट कोशीको भंगालो बस्तीमा छिरेको हो ।

२०४५ सालमा कोशी नदी बगिरहेको स्थानबाट पूर्व सरेकोमा ३४ वर्षपछि पुरानै स्थानमा फर्किएको हो । बेलकाको वडा नम्बर ८, ९, ३, २, १ हुँदै कोशी सप्तरीतिर प्रवेश गर्छ । सुनसरीको बराह क्षेत्रका केही वडा पनि प्रभावित हुनेछन् ।

मेयर कार्कीका अनुसार अब करिब २० हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने भएको छ । अहिलेसम्म ४–५ हजार मानिसहरुलाई विभिन्न ठाउँमा सारिसकेको बताउँदै उनले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र स्थानीयवासी पनि परिचालित रहेको बताए ।

नदीले बेलका नगरपालिका वडा नम्बर ८, डुम्रीबोटेबाट धार परिवर्तन गर्दा नगरपालिकाका वडा नम्बर ८, ९, ३ र २ नम्बर वडाका २३ सय घरपरिवार संकटमा परेको बताइएको छ । यस्तै सुनसरीको बराह क्षेत्रको ६ र ९ नम्बर १३ सय घरधुरी पनि नदी पश्चिम सर्दा विस्थापन हुने अवस्थामा पुगेका छन्।

नदी बस्तीतर्फ सोझिएपछि स्थानीय रातिदेखि नै सामान बोकेर सुरक्षित स्थानतर्फ जान सुरु गरेका छन्। बाढीबाट प्रभावितलाई ट्याक्टरमा स्थानीय विद्यालयमा ओसार्ने क्रम चलिरहेको नगरपालिकाले जनाएको छ ।

सप्तकोसी नदीले बुधबार बिहान ४ बजेतिर धार परिवर्तन गरेको हो। नदीले धार परिवर्तन गर्दा सप्तरीका सप्तकोसी नगरपालिका, कञ्चनरुप र कंकालनी, सुनसरीको बरहक्षेत्र नगरपालिकाका २ वटा वडा र बेलका नगरपालिकाका ४ वटा वडाका बासिन्दा खतरामा परेका छन्।

पहिले नदि बगिरहेको स्थानबाट पूर्वतर्फ सरेपछि नदी उकास जमिनमा बसेको बस्ती अहिले सबैभन्दा जोखिममा परेको छ । नदीले धार परिवर्तन गर्दा बेलकाका ४ वटा वडा र बरहक्षेत्रका २ वटा वडा टापुमा परिणत भएका छन्।

नदीमा पानीको सतह धेरै हुँदा टापुमा रहेका मानिसलाई बाहिर ल्याउन पनि समस्या भइरहेको बेलका नगरपालिकाका मेयर कार्कीले बताए । डुंगाको सहायताले नदी तारेर स्थानीयलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ।

पश्चिमतर्फ धार पविर्तन गरेको सप्तकोसी नदी भागलपुरमा पुगेर मिसिएको छ। केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उनले बताए।

नदीको कटान रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । आफूहरुले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सोही जानकारी गराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।